सांसद रवि लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा आफूलाई थाहा भएका बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै बिहीबार उनले नेपाली नागरिक र एकल आमाका सन्तानको अधिकार सुनिश्चित हुनुपर्ने बताए।
‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ’, लामिछानेले भने, ‘जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले नागरिकताका सन्दर्भमा आफ्नो पार्टी कुनै पनि समुदायप्रति पक्षपाती नभएकोसमेत स्पष्ट पारे।
‘नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको छ’, उनले भने।
उनले राजनीतिसँग कुनै सरोकार नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितका समस्याका विषयमा आवाजविहीनहरुको आवाज बनेको बताए।
सांसद लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गरे। उनले बजेटमा राजस्वको आधार निर्धारणमा हेलचेक्र्याइँ गरिएको टिप्पणी गरे।
उनले आफूहरुले उठाएका विषयकामा अर्थमन्त्रीसँग विश्वासिलो र भरपर्दाे जवाफ माग गर्दै आफूहरु रचनात्मक र सिर्जनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
विकास बजेट विनियोजनामा ठूला र प्रभावशाली नेता तथा मन्त्रीका निर्वाचन क्षेत्रमा परम्परागत प्रवृत्ति देखिएको आशङ्का व्यक्त गर्दै उनले स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए।
सञ्चारमाध्यममा आएका विषयकै कारण संसद् अवरोध गर्न नहुने भन्दै त्यसको तथ्य जाँच गरेर स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। खर्च कटौतीका नामका कतिपय संस्थाको महत्वलाई नजरअन्दाज गर्न नहुने उनले सुझाव दिए।