अमेरिकी चुनाव २०२४ मा नेपाली

भर्जिनिया कंग्रेसनल डिस्ट्रिक्ट १०को डेमोक्रेटिक प्राइमरीमा एड्रियन पोखरेलको उम्मेद्वारी

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा नोभेम्बर ५ मा हुने आमचुनावमा एक नेपाली-अमेरिकीले संघीय संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सकै सदस्यमा उम्मेद्वारी आकांक्षा राखेका छन्। बोलीचालीको भाषामा कंग्रेसमेन भनिने यो पदका लागि उम्मेद्वारी दिने नेपली-अमेरिकी हुन्, एड्रियन पोखरेल। 

भर्जिनिया राज्यको डिस्ट्रिक्ट १० बाट डेमोक्रेटिक पार्टीको उम्मेद्वारी जित्न उनी चुनावमा होमिएका छन्। उनले डिसेम्बर १७ मा उम्मेद्वारी घोषणा गरेका हुन्।

एड्रियन अमेरिकी कंग्रेसमेनको उम्मेद्वारी आकांक्षा राख्ने दोस्रो नेपाली हुन्। यसअघि दर्शन रौनियारले वासिङ्टन राज्यको कंग्रेसनल डिस्ट्रिक्ट १ बाट डेमोक्रेटिक पार्टीको उम्मेद्वारी जित्नका लागि चुनाव लडेका थिए। कंग्रेसमेन जे इन्सली गर्भनरमा चुनाव लडेपछि खाली भएको ओपन सिटका लागि २०१२ मा चुनाव लडेका उनी पराजित भए। त्यसयता कुनै पनि नेपालीले कंग्रेसमेनकै लागि भने चुनावमा उठ्ने साहस गरेको थिएन। १२ वर्षपद्धि खोलो पनि फर्कन्छ भनेझै एड्रियनले हिम्मत जुटाएका छन्।

को हुन् एड्रियन पोखरेल ?

भर्जिनियाको गेन्सभिल निबासी एड्रियन पोखरेलको पुर्खौली घर सुनसरीको धरान विजयपुर हो। तीन दशकभन्दा लामो समय अमेरिकी सैनिक, राष्ट्रिय सुरक्षा सेवा तथा केन्द्रीय गुप्तचर संस्था (सीआईए) मा कार्यरत् उनी एक सेवानिवृत अमेरिकी सैनिक अर्थात् भेट्रन हुन्। अमेरिकी सैनिकका रूपमा अफगानिस्तान युद्धमा खटाइएको बेला उनी घाइते भएका थिए।

कस्तो छ निर्वाचन क्षेत्र ?

लाउडन सेन्टर्ड ड्रिस्टिक्ट भनेर चिनिने भर्जिनियाको कंग्रेनसल डिस्ट्रिक्ट १० पश्चिमी भर्जिनियामा पर्छ। यहाँको जनसंख्या आठ लाख पाँच हजार नौसय ८८ रहेको छ। चारलाख ४९ हजार एकसय चार श्वेत अमेरिकी बसोबास गर्ने यस क्षेत्रमा एसियालीको जनसंख्या पनि एकलाख २७ हजार तीनसय ३८ रहेको छ। यो कूल जनसंख्याको झण्डै १५ प्रतिशत हो। यहाँ नेपाली मुलका मानिस पनि उल्लेख्य संख्यामा बस्छन्। 

यस कंग्रेसनल क्षेत्रकी वर्तमान कंग्रेसवुमन हुन्, जेनिफर वेक्स्टन। डेमोक्रेटिक पार्टीबाट २०१८ यता चुनाव जित्दै आएकी उनले गम्भीर प्रकृतिको पार्किन्सन रोगका कारण चुनावमा नजाने निर्णय गरेपछि यो निर्वाचन क्षेत्र खाली भएको हो। अमेरिकामा यस्तो सिटलाई ओपन सिट भनिन्छ। यस्तो ओपन सिट अमेरिकामा विरलै पाइन्छ। अमेरिकामा एकपटक चुनाव जितेपछि लगभग जीवनभर नै उनीहरू चुनिरहन्छन्। 

सन् २०१८ अगाडि रिपब्लिकनले जित्दै आएको यो क्षेत्र वेक्स्टनको जीतसँगै डेमोक्रेटिक डिस्ट्रिक्ट भएको हो। अहिले पनि ४ प्रतिशतले डेमोक्रेटिक रूझान रहेको यो क्षेत्र प्रतिस्पर्धात्मक क्षेत्र नै मानिन्छ।

डेमोक्रेटिक पार्टीले नै २०१८ देखि  चुनाव जितिरहेको स्थानको ओपन सिटमा चुनाव लड्न पाउँनु  एड्रियनका लागि एक सुन्दर अवसर हो । तर, यस्तो अवसरमा प्राइमरीमै ठूलो प्रतिस्पर्धा हुन्छ जुन अहिले एड्रियनले सामना गर्नु परिरहेको छ।

को को छन् डेमोक्रेटिक उम्मेद्वार आकांक्षी?

डेमोक्रेटिक प्राइमरीमा अहिलेसम्म एड्रियनसहित १२ डेमोक्रेट्सले प्रतिस्पर्धामा उत्रने घोषणा गरिसकेका छन्। उम्मेद्वार घोषणा गर्नेमा पूर्व हाउस स्पिकर इलिन फिलर कर्न, भर्जिनियाका पूर्वशिक्षामन्त्री अतिफ क्वानी, स्टेट सिनेटर जेनिफर बोस्को, सुहास सुब्रमण्यम, डेलिगेट डेभिड रिड, डन हेमरलगायत छन्। भर्जिनियाको डेमोक्रेटिक राजनीतिका ठूला हस्तिहरूको यो भालेभिडन्त रोचक त छ नै, तिब्र प्रतिस्पर्धात्मक पनि छ।

कस्तो छ एड्रियनको स्थिति?

कंग्रेनसल डिस्ट्रिक्ट १० मा डेमोक्रेटिक चुनावमा होमिएका नामहरू भर्जिनियाको डेमोक्रेटिक राजनीतिमा स्थापित नाम हुन्। ती नामको तुलनामा एड्रियन नयाँ नाम हो। यसै पनि एसियाली मूलका मतदाता अल्पमतमा छन्। अमेरिकी चुनावमा पैसा पनि निर्णायक हुन्छ। यहाँ आधी चुनावको हार-जीत त कुन उम्मेद्वारले बढी चन्दा उठायो भन्नेले नै तय गर्छ। 

यी सबै पक्षलाई ध्यानमा राख्दा एड्रियनलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज नरहेको स्थानिय नेपाली समुदायका एक अगुवाले ब्रेक एन लिंक्सलाई बताए। 'तर पनि उनले हिम्मत गरे, हिम्मत गर्नु नै पनि ठूलो कुरा हो', उनले थपे ।

उनको उम्मेद्वारीले स्थानिय नेपालीमाझ एक किसिमको चुनावी उत्साह जगाएको छ। उनीहरू चुनावी क्याम्पेनमा एकजुट भएर खटिरहेका छन्। 

एड्रियन 'यु म्याटर'  भन्ने चुनावी नाराका साथ अगाडि बढेका छन्। उनी राजनीतिमा केही कुरा पनि असम्भव नहुने ठान्छन्। निर्वाचन क्षेत्रका विविध समुदायलाई एकतावद्ध गर्दै समावेशी समाधान दिनु नै आफ्नो चुनावी एजेण्डा रहेको बताउँदै उनी भन्छन्, 'निर्वाचन क्षेत्रको समृद्धिलाई अगाडि बढाउन र वाशिंगटनमा यहाँका बासिन्दाको प्रभावकारी रूपमा प्रतिनिधित्व गराउन प्रतिबद्ध रहने छु।'

भर्जिनियामा जुन १८ मा कंग्रेसका लागि डेमोक्रेटिक प्राइमरीको चुनाव हुने छ।  उनको यात्रा नोभेम्बर ५ मा हुने आमनिर्वाचनसम्म पुग्छ कि पुग्दैन, त्यसका लागि भने जुन १८को साँझसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ। 

प्रकाशित मिति: : 2024-01-20 07:34:00

प्रतिकृया दिनुहोस्