प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एम.सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाललाई कुटपिट गरी सरकारी गाडी लिएर फरार भएका छन्।
अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष महतराका छोरा मिलनले प्रक्रिया नपुगेको फाइल जबरजस्ती सदर गराउन खोज्दा कर्मचारीले नमानेपछि कुटपिट गरेकाे कर्मचारीकाे आराेप छ।
बुधबार दिउँसाे साढे २ बजे पँधेरापात्ला माेटर बाटाे याेजनाकाे फाइल लिएर गाउँपालिकाकाे कार्यालय पुगेका याेजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गाेपाल खड्का र मिलनले याेजना तथा तथ्यांक शाखामा भुक्तानी फाइलकाे विषयलाई लिएर याेजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीलाई अभद्र व्यवहार गरेकाे र त्यसक्रममा विवादबारे बुझ्न खाेज्दा उल्टै प्रशासकीय अधिकृत रिजाललाई मिलनले कुटपिट गरेकाे कर्मचारीहरुले बताएका छन्।
कर्मचारीकाअनुसार मिलनले प्रशासकीय अधिकृतकाे टेबलमाथि पैसाकाे गड्डी राखेर ‘घुस खान खाेजेकाे हाे ?’ भनि अपशब्दसमेत बाेलेकाे यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन्।
उक्त विवाद भएलगत्तै मिलनले बुबा (गाउँपालिका अध्यक्ष)काे सरकारी गाडी लिएर भागेका हुन्।
यता गाउँपालिका अध्यक्षका छाेराले दादागिरी गरेकाे भन्दै कर्मचारीहरुले विराेध जनाएका छन्।