भुटानी शरणार्थी प्रकरणः दुई करोड लिएका बेचन झा नेपाली हुन् कि भारतीय ?

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको अन्तिमतिर नयाँ पात्रको उदय भएको छ। प्रहरीले अनुसन्धान र छानबिन सकाएर पक्राउ परेका १६ जना र आरोपित अरु १७ जनालाई विभिन्न अभियोगमा मुद्दा चलाउनुपर्ने निश्कर्षसहितको राय सरकारी वकीलको कार्यालय काठमाडौंलाई दिएको छ।

प्रकरण छानबिनमा बेचन झा नामक नयाँ बिचौलियाको प्रवेश भएको छ। बिचौलियाको उपमा पाएका उनको ‘ब्याकग्राउण्ड’बारे धेरै कुरा बाहिर नआइसकेको बताइन्छ। ‘काँग्रेसका एकजना वरिष्ठ नेतासँग जोडिएको भेउ पाइएको छ। राजनीतिक वृत्तमा प्रभावशाली भनिएको पनि पाइयो। भारतीय नेक्सस राम्रो भएकाले उतै बस्ने गरेको जानकारी पाइएको छ,’ गृह मन्त्रालय उच्च स्रोतको दाबी छ।

प्रकरणमा संलग्न बेचनलाई कसैले तराईको भनेका छन् भने कसैले पारीको समेत भन्न भ्याएका छन्। तराईको भन्नेमध्ये पनि बेचनलाई कसैले पर्साको, कसैले सर्लाही र कसैले सप्तरीको भनेका छन्। तर उनको यकिन ठेगाना पत्ता लागि नसेकको प्रहरीको भनाइ छ। ‘बेचन स्वयमले आफ्नो पूर्वराष्ट्रपतिसँग सम्बन्ध भएको बताउने गरेका छन्, ससुराली नेपालमा भन्ने कुरो खुलेको छ,’ स्रोतले भन्यो।

आखिर बेचन झाले गरे के ? कसरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए ? अनुसन्धान तथा छानबिनमा संलग्न प्रहरी अधिकृतहरूमध्ये एक जनाले भने, ‘प्रकरण गिरोहका सदस्य सानु भण्डारीलगायतले ल्वाईंल्वाईं चेक काटेर उसको खातामा रकम हालेको देखिन्छ। अन्तिम समयमा मात्र उबारे खबर आएको हो। दुई दिनअघि समातिएको भए अहिले नै जेल जानेको संख्या १७ हुने रहेछ।’ उनको हिमालय बैंकमा रहेको खातामा दुई करोड एकै पटक जम्मा गरेको देखिएको छ।

उनीविरुद्ध भारतमासमेत ठगीको आरोपमा मुद्दा दायर भएको छ। तर उताबाट भागेर नेपालमा बसोबास गर्दै आएका झा अहिले नेपालबाट पनि बेपत्ता भएका छन्। अकोतर्फ तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको पिएसओको खातामा समेत गिरोहको रकम प्राप्त भएको अनुसन्धानमा फेला परेको छ। पीएसओ स्वयम्ले आफ्नो नामबाट उठाएर एक करोड बढी खातामा राखेको पाइएको हो। यसबारे पिएसओले समेत सकारेको बताइन्छ। दुई तीन वटा बैंकमा पैसा राखे पनि केही रकम उनले कर्मचारी सञ्चयकोषमा लिएको पहिलेको ऋण तिर्न प्रयोग गरेका हुन्।

सम्भवतः भोलिसम्ममा १६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुने प्रहरीको भनाइ छ। प्रहरीको रायमा सरकारी वकीलको कार्यालयले राय थपघट गर्नसक्ने सम्भावना उत्तिकै देखिन्छ। भोलि मुद्दा दायर हुने बताउँदै सरकारी वकील कार्यालय स्रोतले भन्यो, ‘हुँदा खाने हैसियतको वकीलको काम सकिएपछि हुँदोखाँदोहरुको काम शुरु हुन्छ।’

प्रकाशित मिति: : 2023-05-24 05:15:00

प्रतिकृया दिनुहोस्