प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा गरेको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अर्बाैँ ठगी गरेको आरोपमा विभिन्न समयमा १६ जनालाई पक्राउ गरी बयानका आधारमा प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको छ।
प्रहरीले हिजाे (आइतबार) नै प्रतिवेदन बुझाउने तयारी गरे पनि प्रक्रिया पूरा नभएका कारण बुझाउन सकेकाे थिएन्। प्रतिवेदन बुझाउने अन्तिम समयमा पक्राउ परेका पूर्वा सांसद आङटावा शेर्पाविरुद्ध पाँच वटा उजुरी परेका थिए।
‘हिजाे नै प्रतिवेदन बुझाउने भनेका थियाैँ तर हिजाे काम सकिएन्, आज बुझाउँछाैँ,’ टेकुस्थित काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी एसपी सिताराम रिजालले भने।
यस प्रकरणमा एमाले सचिव (निलम्बित) एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहसचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, नरेन्द्र केसी, गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोबिन्द चौधरी गरी १६ जना आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतीक थापा र इन्द्रजितका छोरा निरज राई फरार छन्।
पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधको कसुर गरी तीन अभियोग सिफारिस गर्ने प्रहरीकाे तयारी छ। प्रहरीले हाल पक्राउ परेकाबाहेक बाँकी १६ जना गरी कुल ३२ जनाविरुद्ध मुद्दा दायर गर्न सरकारी वकिलकाे कार्यालयलाई सिफारिस गर्ने बताए।