राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एउटा काण्डको अनुसन्धान हुँदैमा सरकारलाई नै सफलता भन्न नसकिने बताएका छन्।
शनिबार काठमाडौंको नक्सालमा भएकाे भ्रष्टाचारविरोधी प्रदर्शनमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले एउटा काण्डको अनुसन्धान हुँदै गर्दा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने बताए।
‘एउटा काण्डको अनुसन्धान हुँदै गर्दा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ कि त्यति धेरै पनि नलियौं होला। आशावादी हाैँ, गर्न पाइयाेस्। कैयाैं काण्डहरु त लाइनमै छन् नि त। अब हेर्छाैं नि त हामी, ती काण्डहरु पनि अनुसन्धान हुन्’ उनले भने, ‘त्यस कारणले सरकारले यसलाई सुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार! तर यो रोकिनुभएन। अनि यसलाई विषयान्तर गर्ने काेसिस सकैले पनि नगरोस्। कुनै पनि दलले नगराेस्। कुनै पनि दलका नेता कार्यकर्ताहरू जाे हुनुहुन्छ कृपया आफ्नो दलभित्रका खराब मान्छेलाई बचाउने, छेक्ने, ढाँट्ने नगर्नुस्। नांगिसक्यो अब किन छेक्ने।’
नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्ने उनकाे भनाइ छ।
‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ। देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरुको उजागर भयो,’ लामिछानेले भने, ‘विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू हतकडी लाएर जेल गएको देखेका छौं। यो देशको बेज्जत भएको होइन यो देशको इज्जत बढ्यो। पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले लिने हो।’