सुत्केरीको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि तनाव सृजना भएको छ। घोराही उपमहानगरपालिका–८ सौरीकी मधु बुढाथोकी केसीको बिहीबार प्रतिष्ठानमा मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेका छन्।

घटनाको उचित अनुसन्धानसहित क्षतिपूर्तिको माग राख्दै शुक्रबार बिहानैदेखि पीडितहरु प्रतिष्ठान परिसरमा आन्दोलनमा उत्रिएका हुन्।

मृतकका श्रीमान शेरबहादुर केसीका अनुसार २८ वर्षीया आफ्नी श्रीमती दिउँसो १ बजे सामान्य रुपमा सुत्केरी भएकी थिइन्। तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरुले हात हालेर जबरजस्ती निकाल्न खोज्दा सुत्केरीको ज्यान गएको उनको दाबी छ।

उपचारमा संलग्न डाक्टर र नर्सहरुले सुत्केरीको अवस्थाका बारेमा आफन्तहरुलाई कुनै पनि जानकारी नगराई आफूखुशी सुत्केरीको उपचार गर्न खोज्दा ज्यान गएको मृतकका श्रीमान शेरबहादुरले बताए।

बिरामी अचेत भई स्वास्थ्य अवस्था जटिल भएपछि डाक्टरले आईसीयूमा राखेर उपचार गर्ने भन्दै एकाएक कागज गराउन लगाएर उपचारको बहानामा बिरामी मार्ने खेल भएको उनको आरोप छ। सुत्केरी हुनुअघि सबै स्वास्थ्य परीक्षण गर्दा सामान्य रिपोर्ट आएको अवस्थामा प्रतिष्ठानको लापरवाहीले सुत्केरीको ज्यान गएको सुत्केरीकी आमा पूर्णा बुढाथोकीले बताइन्। शिशुको अवस्था भने सामान्य छ।

मृतकको क्षतिपूर्तिबापत ५० लाख, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने तथा यस प्रकारका कमीकमजोरी प्रतिष्ठानले रोक्नुपर्ने मृतकका माइला ससुरा हरिको माग छ।

यसैगरी मृतकको शरीरको सबै अंक परीक्षण हुनुपर्ने उनीहरुले माग गरेका छन्। सुत्केरीको मृत्युको विषयमा प्रतिष्ठानले अहिलेसम्म आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन।

तर, पीडितहरु समक्ष सुत्केरीको उपचार गर्दागर्दै अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको प्रतिष्ठानले प्रारम्भिक जवाफ दिएको छ। घटनाका विषयमा निकास खोज्न आज बिहान प्रतिष्ठान र पीडित पक्षबीच छलफल भएपनि निकास निस्कन सकेन।

यस विषयमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले चासो लिँदै प्रतिष्ठान र पीडित पक्षलाई राखेर समस्याको निकास खोज्न शुक्रबार (आज) दिउँसो जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने योजना रहेको बताइएको छ।

प्रकाशित मिति: : 2023-05-12 11:37:00

प्रतिकृया दिनुहोस्