नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा थप २ जना पक्राउ परेका छन्।
काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ।
प्रहरीका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो। उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा यसअघि प्रहरीले उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ। आज थप २ जना पक्राउ परेका हुन्। याेसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेकाे संख्या १० जना पुगेकाे छ।
याे प्रकरणमा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए। त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए।
यसैगरी प्रहरीले वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो।
प्रहरीले २० तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको थियाे।
पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझी, तत्कालीन गृहमन्त्री ‘बादल’ का छोरा प्रतिक थापा र इन्द्रजीतका छोरा नीरज भने फरार छन्। प्रहरीले अहिले उनीहरूकाे खोजी गरिरहेको छ।
उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन्। उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन्।