तनापूर्ण उपनिर्वाचन: आचारसंहित उल्लंघनदेखि बुथ कब्जाको प्रयाससम्म

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो निर्वाचनको पहिलो उपनिर्वाचन आइतबार (आज १० गते) भयो। उपनिर्वाचनबाट ३ जना सांसद चुन्न बिहान ७ बजेदेखि  साँझ ५ बजेसम्म मतदाता लाइनमा बसेर मतदान गरे।

चितवन– २, तनहुँ– १ र बारा– २ मा भएको उपनिर्वाचन शान्तिपूर्ण भने हुन सकेन। मतदानकै दिन निर्वाचन आचारसंहिता उल्लंघनदेखि बुथ कब्जासम्मको प्रयास भए। मतदान सुरु भएसँगै बारामा जनता समाजवादी पार्टीका कार्यक्रताहरुले बुथ कब्जा गरेकोसम्म आरोप लाग्यो।

जनता समाजवादी पार्टीका कार्यकर्ताले बाराको बेलदारी र झिटेकैया बुथमा आफूहरुलाई छिर्न नदिएर कब्जा गरेको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)ले आरोप लगाएका थिए। ‘बिहानैदेखि बेलदारी बुथमा कब्जा भएको अवस्था छ। त्यहाँ हाम्रो बुथ एजेन्सीलाई छिर्न दिएको अवस्था छैन। त्यहाँ जसपाका कार्यकर्ताहरुले काट्दिन्छु भनेको थिए। त्यहाँ बुथ भित्रै छिर्न दिइएको छैन,’ राउतले सञ्चारकर्मीसँग भनेका थिए।

त्यति मात्र होइन बारामा नक्कली मतपत्र मतपेटीकामा खसाल्न खोज्ने एक जना पक्राउ परे। बाराको देवताल गाउँपालिका– ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा दुईवटा मतपत्र खसाउन खोजेपछि जसपाका नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव पक्राउ परेका थिए।

उनीसहित प्रहरीले मतदान बिथोल्न खोज्ने पाँच जनलाई पक्राउ गर्‍यो। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले निर्वाचन बिथाल्न खोज्ने पाँच जनलाई पक्राउ गरिएको बिएल नेपाली सेवालाई बताएका थिए।

बारा– २ मा ८२ मतदानस्थलमा १३८ मतदान केन्द्र तोकिएको थियो। दुई ठाउँको मतदान केन्द्रमा केही विवाद देखिए पनि अन्य ठाउँको विवाद आएको देखिएन। अन्य ठाउँमा शान्तिपूर्ण मतदान भएको प्रहरी प्रमुख बोगटीको भनाइ छ।

तीन निर्वाचन क्षेत्रमध्ये चितवन २ तनाबपूर्ण

उपनिर्वाचन विशेष गरेर चितवन– २ तनावपूर्ण रह्यो। चितवन– २ मा मतदान केन्द्रमा झडपको स्थितिसम्म सृजना भएको थियो। यद्यपि, बलियो सुरक्षाकर्मीको उपस्थितिले झडप हुन पाएन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन– २ का उम्मेदवार रवि लामिछाने भरतपुर महानगरपालिका– ११ मा रहेको नयाँ किरण कमलकुसुम माविको मतदान केन्द्रमा पुग्दा झडपको स्थिति आएको थियो। उनी अवलोकनका लागि त्यहाँ पुग्दा उनले निर्वाचन आचारसंहित उल्लंघन गरेपछि अन्य पार्टीका नेता कार्यक्रताहरुले केही घण्टा मतदानसमेत स्थगन गराएका थिए।

पछि रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको निष्कर्षसहित उनले माफी माग्ने सर्वपक्षीय बैठकको निर्णयले मतदान पुनः भएको थियो। उनले त्यहाँ आचारसंहित उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरीसमेत परेको छ।

चितवन– २ मा कांग्रेसबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले निर्वाचन प्रक्रिया सुचारू भइरहेको अवस्थामा रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट मत मागेको, विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने, गराउने गरी मतदातालाई प्रभावित पारेको भन्दै उजुरी दिए।

यस्तै भरतपुर महानगरपालिका– ७ स्थित कृष्णपुर मा.वि. केन्द्रमा पनि मतदान केही समय स्थगन भएको थियो। यहाँ पनि रवि लामिछानेले निर्वाचन आचारसंहित उल्लंघन गरेको विषयलाई लिएर अन्य पार्टीका कार्यक्रताले मतदान स्थगन गरेका थिए। पछि सहमति भएपछि पुनः मतदान सुरु भएको थियो।

तनहुँ– १ पनि विवादरहित रहन सकेन

तनहुँ निर्वाचन नं. १ चितवन– २ र बारा– २ जस्तो धेरै विवादित नभए पनि विवादरहित रहन सकेन। यहाँ नेपाली काँग्रेसबाट उम्मेदवार बनेका गोविन्द भट्टराईलाई जिल्ला निर्वाचन आचारसंहित अनुगमन समितिले स्पष्टीकरण साध्यो।

आचारसंहिता उल्लंघन गरेको भन्दै अनुगमन समितिले भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोध्यो। मौनअवधिमा भोट मागेको भन्दै उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो।

यो एक घटनाबाहेक तनहुँ– १ मा उपनिर्वाचनको मतदान शान्तिपूर्ण भयो।

घट्यो मत

चितवन– २ र तनहुँ– १ मा मत घटेको छ। अघिल्लो मंसिर ४ मा भएको निर्वाचनमा भन्दा यसपकट यी निर्वाचन क्षेत्रमा मत घटेको हो।

चितवन– २ मा मंसिरको भन्दा ५ प्रतिशत कम मत खसेको छ। मंसिर ४ मा ६७.६३ प्रतिशत मत खसेकोमा भने ६२.७७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै तनहुँ– १ मा पनि मत घटेको छ। यहाँ मंसिर ४ को निर्वाचनमा ५४.३६ प्रतिशत मत खसेको थियो। अहिलेको उपनिर्वाचनमा ३ प्रतिशतले घटेर ५१.७० प्रतिशत मत खसेको छ।

बारा– २ को भने यो समाचार तयार पार्दासम्म मत परिणाम सर्वजनिक हुन बाँकी रहेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले तीन वाटा निर्वाचन क्षेत्रमा करिब ५९ प्रतिशत मत खसेको जानकारी दिए।

प्रकाशित मिति: : 2023-04-23 21:50:00

प्रतिकृया दिनुहोस्