आक्रमणको प्रयास भएपछि रविले भने– सुनियोजित रूपमा घटना घटाइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफुमाथि घेराबन्दी गरिएको बताएका छन्।

भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान भइरहेको समयमा अवलोकन गर्न पुगेपछि लामिछानेमाथि आक्रमणको प्रयास भएको थियो। त्यसपछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ आउँदै उनले आफुमाथि घेराबन्दी भएको बताएका हुन्। नयाँकिरण माविमा भएको धकेलाधकेल सुनियोजित रहेको लामिछानको भनाइ छ।

‘हामीमाथि चौतर्फी रुपमा घेराबन्दी भएको छ। पहिले नै योजना बनाएर यो ठाउँमा यस्तो गर्ने भनिएको छ भन्ने सूचना हामीले पाएका थियौँ,’ उनले भने, ‘हामीलाई जस्तो सूचना आएको थियो त्यस्तै भयो।’

लामिछाने नयाँकिरण माविको मतदान केन्द्रमा पुग्दा समर्थकले रवि दाई हाई–हाई भनेका थिए। त्यसपछि निर्वाचन आचारसंहिताविपरीत हल्ला गरेको भन्दै लामिछानेमाथि नै केहीले आक्रमणको प्रयास गरेका थिए। त्यो आक्रमणको प्रयास सुनियोजित र पहिलेकै योजनाअनुसार रहेको लामिछानेको आराेप छ।

उनले अन्य पार्टीका नेता कार्यकर्तालाई संयमित हुन आग्रह गरेका छन्। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबैलाई सहयोग गर्न पनि उनको आग्रह छ। आफ्ना पार्टीका समर्थकहरुलाई पनि लामिछानेले संयमित हुन आग्रह गरेका छन्।

साथै लामिछानेले सुरक्षाकर्मीको ध्यानाकर्षणसमेत गराएका छन्।

प्रकाशित मिति: : 2023-04-23 14:06:00

प्रतिकृया दिनुहोस्