यात्री बाइकलाई सरकारले दिएन दर्ता अनुमति, आन्दोलन गर्ने महावीर पुनको चेतावनी

नेपालमा पहिलो पटक निर्मित विद्युतीय मोटरसाइकल ‘यात्री’ ले दर्ताको नेपाल सरकारबाट प्रमाणपत्र (नम्बर प्लेट) पाउन नसकेपछि निराश भएर विदेश पलायन हुन बाध्य भएका छन्।

‘यात्री’ मोटरसाइकलका निर्माणकर्ता अशिम पाण्डे र बत्सल पाण्डेसहितको टोली सरकारले वेवास्ता गरेपछि अवसरको खोजीमा चीनतिर निस्किएका हुन्।

स्रोतका अनुसार उनिहरु अवसरको खोजीमा चीन पुगेको बताइएको छ। कम्पनीका सल्लाहकार एवं निर्माण व्यवसायी निकोलश पाण्डेले यहाँको नियम, कानुन, कर्मचारीतन्त्र र पूरै प्रणाली खराब भएको बताए। 'देशमै केही गर्छु भन्नेलाई कहिकतैबाट सहयोग मिल्दैन' उनले भने, 'नेपालमा केही गर्छु भन्नेलाई देशमा अवसर नै छैन। यहीँ कारण निर्माता भाइहरु विदेश पलायन हुन बाध्य भएका छन्।'

नेपालमा पहिलो पटक करिब ६ वर्ष अगाडि कम्पनी स्थापना गरेर विद्युतीय मोटरसाइकल ‘यात्री’ को उत्पादन युवा इन्जिनियर अशिम पाण्डेसहितको टिमले थालेका हुन्। 

टिममा अशिम पाण्डेसहित मेकानिकल इन्जिनियर अशेष श्रेष्ठ, कनिष्क सुवाल, सुलभ श्रेष्ठ, कृष्ण श्रेष्ठ, बत्सल पाण्डे, सार्थक शर्माले साथ दिएका थिए।

लामो समयको अध्ययन अनुसन्धान प्रयाससँगै यात्रीको उत्पादन भयो र बजारमा पनि राम्रै बिक्री भयो। मोटरसाइकलको दर्ता (नम्बर प्लेट) पाउन सरकारी कार्यलय र सम्बन्धित निकायको ढोका चहारे। नम्बर प्लेटकै कारण यात्री मोटरसाइकल बारम्बार ट्राफिक प्रहरीले कारबाहीमा परे। अन्तत नम्बर प्लेटकै कारण यात्रीको व्यवसाय धरापमा पर्न गयो । 

यात्री मोटरसाइकल कम्पनीले आफ्नै कारखानामा पार्ट पुर्जा लगायत च्यासिस्, ब्याट्री समेत आफैँले उत्पादन गरेको थियो। अन्य एसेम्बलिङ कम्पनीहरुले च्यासिस् मोटर लगायत पार्टपूर्जा बाहिरबाट आयात गरेर जडान गर्छन्। तर यात्रीले भने आफैँले उत्पादन गरिरहेको थियो। यात्रीले उत्पादन सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिकल्पना नपरेको भन्दै नम्बर प्लेट पाएन।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र सोही ऐनमा टेकेर बनेको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधन, २०७४) ले समेत नेपालमा उत्पादित सवारी साधनलाई दर्ताबाट बर्जित गरेको छ। कार्यविधिको दफा ११ को १ मा नयाँ सवारी दर्ता एवं प्रक्रिया सम्बन्धी व्यवस्था छ।

उक्त दफाको उपदफा २ मा सवारी दर्ताका लागि भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल अनिवार्य गरिएको छ। व्यवस्था अनुसार सवारी दर्ताको प्रमाणपत्रका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद (सक्कल प्रज्ञापन पत्र कार्यालयमै रहनेछ) अनिवार्य बुझाउनुपर्ने बताइएको छ।

यही व्यवस्था टेकेर यातायात कार्यालयले यात्रीलाई दर्ता दिन नमानेका यात्री निर्माणकर्ता बताउँछन्। 

यात्रीलाई दर्ता नदिएपछि महावीर पुनले दिए आन्दोलन गर्ने चेतावनी

यात्री मोटरसाइकललाई सरकारले दर्ता नदिएर चीनतिर पलायन भएपछि राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले बृहत जनआन्दोलनको लागि अह्वान गरेका छन्। 

'अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जन आन्दोलन गरौँ' उनले भने, 'नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्री लाई सरकारबाट अनुमति दिलाऔं।'

यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् भन्दै काठमाडौँ उपत्यकाबाट बृहत आन्दोलन सुरु गर्न अह्वान गरेका छन्।

आन्दोनको नेतृत्व गर्ने  बताउँदै अनुसन्धान र नबप्रबर्तन पर्ति गण्डकी प्रदेश सरकारले उनि र यात्री मोटर साइकल टिमलाई संघीय सरकारले गरेको अपमानजनक व्यवहारले उनलाई शिकारीले घाइते बाघ जस्तै बनाएको छ। 

उनले भनेका छन्, 'मर्नु नै परे पछि खुट्टा तानेर नै मर्ने नि। पहिला आन्दोलन गरौँ र बार्ता पछि गरौंला।' उनले समाजिक सञ्जाल मार्फत युवाहरुलाई उठौं र आन्दोलनको तयारी गरौँ भनेका छन्।

आन्दोलन व्यवस्थापनमा काम गर्न चाहनेहरुको फेसबुक, भाइबर, व्हाटसप, ट्वीटर, इन्स्ताग्राम एकाउन्ट बनाएर अगाडि बढ्न समेत सुझाव दिएका छन्।

यो कुनै राजनैतिक आन्दोलन नभएको तर राजनैतिक पार्टीहरुले भाग लिन सक्ने बताउँदै युवाहरुको आन्दोलन सशंक्त हुने भन्दै  छलफलपछि आन्दोलनको मिति तोकिने बताएका छन्।

प्रकाशित मिति: : 2023-04-22 21:24:00

प्रतिकृया दिनुहोस्