बागमती प्रदेशका दुई जना मन्त्रीले लिए शपथ

बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको आज शपथ लिएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज साँझ गराएका हुन्।

मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गरेका थिए। 

उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

बागमती प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको संयुक्त गठबन्धनबाट जमकट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। 

उनले पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो। जसमा आर्थिक मामिला तथा योजनामन्त्री नेकपा एमालेका जगन्नाथ थपलिया र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राप्रपाका उद्धव थापा नियुक्त भएका थिए।

माघ ४ गते विश्वासको मत पाएसँगै मुख्यमन्त्री जमकट्टेलले एमाले र राप्रपाको गरी थप तीनजना मन्त्री नियुक्त गरेका थिए। फागुन १३ गते बागमती सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो। 

सोही दिन राप्रपाका तर्फबाट मन्त्री बनेका तीनजनाले पदबाट राजीनामा दिएका थिए। 

मुख्यमन्त्री जमकट्टेलले चैत १० गते पुनः विश्वासको मत लिने क्रममा एमालेले विश्वासको मतको विपक्षमा मतदान गर्दै सरकारबाट बाहिरिएको थियो।

 

प्रकाशित मिति: : 2023-04-09 19:45:00

प्रतिकृया दिनुहोस्