एमालेभित्र गुटबन्दी र पक्ष–विपक्ष छैन: केपी ओली

File Photo
File Photo

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको स्पष्ट पारेका छन्।

शनिबार अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।

'एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन। सबै एकजुट रहेका छन्', उनले भने, 'स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस्। स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस्।'

उनले एमालेका जातीय सङ्गठनले जातीय वैमनश्यता नभई राष्ट्रिय एकताका लागि काम गर्नेसमेत बताए। एमालेका हरेक सङ्गठन गतिशील हुने भन्दै अनेमसङ्घले सक्षम महिला नेतृ उत्पादन गर्दै नेपालका महिला दिदी–बहिनीलाई सचेत र सशक्त बनाउनुपर्ने बताए।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भनेको आजको नेपालको जनताको बहुदलीय जनवाद रहेको भनाइ राखे। सामाजिक परिवर्तन गर्नका लागि पार्टीमात्र भएर पुग्दैन भनेर नै सामाजिक सङ्घसङ्गठनको रूपमा विभिन्न जनसङ्गठन स्थापना गरिएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-04-08 17:59:00

प्रतिकृया दिनुहोस्