क्यान्सरबाट ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरिकाको सामाजिक केन्द्रद्वारा सहयोग

मोरङको पथरीशनिश्चरे वडा नं १० की स्वर्गीय रुपा राईको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग जुटेको छ।

पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरिकामा रहेका समाजसेवी युवा दिपेन्द्र दाहालको पहलमा अमेरिकास्थित ओहायो नामक संस्थाबाट १ लाख २ हजार ८ सय ६५ रुपैयाँ रकम प्राप्त भएको हो।

दाँत फुकाल्ने क्रममा समस्या आइ समयमा उपचार नहुँदा मुखको क्यान्सरबाट पीडित बन्नुपरेकी रुपाको गत १२ गते ज्यान गएको थियो। दिनदुखी, असहाय, अपाङ्गता भएका अमेरिकाभित्र तथा बाहिरका विभिन्न नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ खोलिएको उक्त संस्थाका सचिव चन्द्र बास्तोलाले बताए।

संस्थाका साथै अमेरिकामै रहेका सानमार कम्पनीका इम्योइहरु दिपेन राई, डम्बर, दिक्षा, सुस्मा, सोनु, कुनाल, सागर, जङ्ग, गंगा, अञ्जना, प्रेम, धिरेन, राम, उज्वललगायतका नेपालीहरुले उक्त रकम उपलब्ध गराएका थिए।

उपलब्ध रकम दाहालकी आमा चिनिमायाले परिवारलाई हस्तान्तरण गरेकी थिइन्। मृतक राईको बुबाआमासहित सपरिवार वडा नं १० कै डाँस खोलाको किनार छेउमा बसोबास रहँदै आएको थियो। सुकुम्बासीका रुपमा रहेका र आर्थिक अवस्थासमेत दयनीय रहेको रुपाको उपचारका क्रममा पनि सहयोग जुटाउँदै आएका दाहालले रुपाको मृत्युले आफू दुखी रहेको बताए।

३ पुस्तासम्म सुकुम्बासीका रुपमा रहेर खोला किनारमा गिटी कुटेर जीविकोपार्जन गर्दै आएकी रुपाको आर्थिक विपन्नताकै कारण समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्दा आफूहरु दुखी रहेको र मृतकका सन्तानको उचित शिक्षादिक्षाको सहजताका लागि समेत सहयोग गरेको सहयोगी संस्थाका अध्यक्ष नारायण आचार्यले बताए। मृतक राईका १ छोरा र एक छोरी छन्।

प्रकाशित मिति: : 2023-03-29 11:14:00

प्रतिकृया दिनुहोस्