राहुल गान्धीको सांसद पद खारेज

भारतका विपक्षी नेता राहुल गान्धीलाई फौजदारी मानहानी अभियोगमा दुई वर्षको जेल सजाय सुनाएको भाेलिपल्टै संसद सदस्यका लागि अयोग्य घोषित गरिएको छ।

५२ वर्षीय गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको हो।

नेहरु–गान्धी परिवारका वंशज तथा कांग्रेस पार्टीका पूर्वअध्यक्ष गान्धीले उच्च अदालतमा अपिल गर्ने छन्। कांग्रेस प्रवक्ता पवन खेराले भने, 'यो लडाइँ कानुनी र राजनीतिक दुवै तरिकाले लडिनेछ।'

भारतीय सञ्चारमाध्यमहरूका अनुसार चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा गान्धीले किन सबै चोरहरूको साझा थर ‘मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गरेका थिए। त्यसबेला उनले फरार हिरा व्यापारी निरभ मोदी र भारतीय क्रिकेट प्रमुख ललित मोदीलाई सङ्केत गरेका थिए।

सत्तारूढ भारतीय जनता पार्टीका सांसद पुर्नेश मोदीको उजुरीका आधारमा दायर भएको थियो। उनले गान्धीको टिप्पणीले पूरै मोदी समुदायलाई अपमान गरेको बताएका थिए।

गान्धीका वकिलहरूले उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको जनाएका छन्। उनीहरूले गान्धीको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित रहेकाले उजुरीकर्ता पुर्नेश मोदी नभई प्रधानमन्त्री मोदी हुनु आवश्यक रहेको तर्क गरेका थिए।

प्रकाशित मिति: : 2023-03-24 15:39:00

प्रतिकृया दिनुहोस्