सिताराम कट्टेल 'धुर्मुस'ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकार उदासिन बनेको बताएका छन्। बजेट अभावमा २०७८ साउनदेखि रंगशाला निर्माणको काम अलपत्र परेको छ।
मंगलबार रंगशालाबाट एक भिडियो सार्वजनिक गर्दै धुर्मुसले नागरिक र सरकारको सहयोगमा रंगशाला निर्माण गरिने भएपनि सरकारले असहयोग गरेको बताएका हुन्।
‘नागरिक र सरकारको सहकार्यमा परियोजना अगाडि बढ्दा बेग्लै सन्देश जान्छ भनेर काम गरिएको थियो। तर राज्यले सहयोग गरेन’, उनले भनेका छन्।
आफू सिंहदरबारबाट धाउँदा थाकेको बताउँदै धुर्मुसले भनेका छन्, ‘म एक दिन होइन, दुई दिन होइन, मन्त्रालय बिहानदेखि साँझसम्म धाइरहेँ। तर मन्त्री, सचिवबाट आश्वसनबाहेक केही पाइनँ।’
उनले अगाडि भनेका छन्, ‘हामीले यो परियोजनाका लागि नागरिकलाई मात्र सहयोगका लागि अपिल गरेका थिएनौँ। प्रत्यक स्थानीय तहलाई प्रपोजल पठाएका थियौँ। तर कसैले पनि आफ्नो मानेनन्। सबै तहका सरकारले अलिअलि बजेट विनियोजन गरेको भएपनि देशकै सम्पत्ति बनेको थियो। आजसम्म निर्माण भइसक्थ्यो। तर, सरकारले आफ्नो परियोजना मानेन र अहिले अलपत्र पर्यो।’
रंगशालाका दुबो मरेको भएपनि निर्माणको आशा नमरेको भन्दै उनले थप निर्माणको कार्य थाल्न सरकारलाई आग्रह गरेका छन्।