काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले राहदानी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरेको छ।
सरकारी वकिलकाे कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णयसहित उच्च सरकारी वकिल कार्यालय पाटनमा प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिएका छन्।
अध्यागमन विभागमा रवि लामिछानेले राहदानी दुरुपयाेग गरेकाे पुष्टि हुने खालकाे कुनै प्रमाण नभेटिएकाे सरकारी वकिलकाे कार्यालयले बताएकाे छ। अमेरिकी हुनुअघि नेपाली नागरिक रहेकाेले उनलाई विदेशी नभई गैरआवासीय नागरिकसरह मान्नुपर्ने ठहर गरिएकाे छ।
लामिछानेले सन २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी अध्यागमन विभागबाट रद्द भइसकेको र नागरिकता पुन: प्राप्ति गरिसकेकोले मुद्दा चलाउनु नपर्ने कुरा उल्लेख गरिएकाे छ।
यसअघि विदेशी नागरिकता लिएको अवस्थामा पुरानै नेपाली नागरिकता लिएर नेपाली पासपोर्ट लिएको भन्दै रवि लामिछानेमाथि मुद्दा चलाउनुपर्ने भन्दै काठमाडौँ प्रहरीमा जाहेरी परेको थियो।
अब उक्त मुद्दा उच्च सरकारी वकिल कार्यालयले सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्ने छ।