नयाँ उपराष्ट्रपतिका लागि आज निर्वाचन

File Photo
File Photo

मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो। उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ।  मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन्।

प्रकाशित मिति: : 2023-03-17 09:05:00

प्रतिकृया दिनुहोस्