काठमाडौं जिल्ला अदालतले अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोप पक्राउ परेका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेकाे छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)काे अनुसार उनीहरुलाई अदालतको सोमबारको आदेशले ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा कारागार चलान गरेकाे हो।
शाहसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउदलाई पुर्पक्षका लागि थुनामा पठाइएकाे हाे।
पक्राउ परेका सातमध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको छ। सिआइवीले नै उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। सिआइवीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो।
उनीहरुको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्याएर ठगी गरेका पाइएको छ। अभियुक्तहरुले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै रु ६४ करोडभन्दा बढी ठगी गरेको आरोप छ। ठगिनेमा धेरै अमेरिकी नागरिक छन्।
उनीहरुले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धाहरुलाई लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए । अभियुक्तहरुले पीडितको बैंक खातामा पहुँच पुर्याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए। ठगीका २० आरोपीमध्ये १३ फरार छन्।