बालुवाटारमा जुटे माओवादी घटकका नेताहरू

माओवादी घटकहरुको संयुक्त बैठक बालुवाटारमा बसिरहेको छ।

माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी घटकहरू निरन्तर छलफलमा जुटेका छन्।

केहीदिन पहिले उनीहरूले बालुवाटारमै संवाद गरेका थिए। उक्त बैठकमा द्वन्द्वकालीन विषय उठाउन खाजे मिलेर प्रतिवाद गर्ने निर्णय गरेकाे माओवादी नेताहरू बताउँछन्।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै शुक्रबारका लागि सारिएको छ। उक्त रिटमा शुक्रबार पहिलो सुनुवाइ हुनेछ।

प्रचण्डले तीन वर्षअघि माघी पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा १७ हजार मारेको आरोप आफूलाई लाग्ने गरेको भन्दै सामन्तीहरूले १२ हजार मारेको जिम्मा लिने भए पाँच हजारको जिम्मा आफू लिन तयार रहेको बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर अधिवक्ताद्वय ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीलगायत द्वन्द्वपीडितले सर्वोच्चमा दुईवटा रिट दायर गरेका हुन्।

यस्ता रिट निवेदन पटक-पटक दरपिठ भएपनि दरपीठ भएको आदेशविरुद्ध नै मुद्दा परे पछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले प्रचण्डले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो।

प्रकाशित मिति: : 2023-03-10 09:21:00

प्रतिकृया दिनुहोस्