बर्खा सकियो। दुई महिना अघिसम्म त बुलौदी खोला सुसाइरहेथ्यो। आकाशबाट पानी नपरुञ्जेल प्राय: शान्त रहन्छ बुलौदी खोला।
बर्खे भेल उर्लिंदा के सुसाउँथ्यो र बुलौदी ! त्यो भन्दा बढी सुसाएको छ, विक्रम सुवेदीको मन। हो, महामारीले व्यवसाय चौपट पारेपछि विक्रमलाई ठूलो बज्रपात प-यो। २१ लाख रुपैयाँ लगानी गरेर थालेको च्याउ खेती डुबेपछि विक्रमको होस् ह्वासै ठेगानमा छैन।
‘दिन, ग्रह बिग्रिएपछि केही नसोचिँदो रहेछ। सुरुमा यस्तो दिन आऊला भन्ने सोच्दै सोचिएन,’ उदास स्वरमा विक्रमले सुनाए, ‘ऋणैऋण भएपछि बुझें, यहाँ (नेपालमा) चाहेरमात्रै केही नुहुने रहेछ। यत्रो ऋण कसरी तिर्ने ? फेरि विदेश जाँदैछु। दाइले कतारबाट भिसा पठाइदिँदै छ।’
स्याङ्जा आँधीखोलाका विक्रमले पोखरा–४, मासबारमा जग्गा भाडामा लिएर च्याउ खेती थालेका थिए। पहिलो वर्ष राम्रै कमाइ पनि गरे। लगत्तै लकडाउन सुरु भयो। लकडाउन सकिएला भन्ने आशै आशमा च्याउ तयार पारे। बजार खुलेपछि बेचौँला भन्दाभन्दै महिनौं कुरे। तर, लकडाउन खुलेन बरु बजारमा बेच्न ठिक्क पारेका च्याउ खाल्डो खन्दै पुर्नुपर्ने स्थिति आयो। कति साथी भाई आफन्तीलाई बाँडे। नजिकका छिमेकी ग्राहकले १, २ केजी किने। बाँकी उत्पादन बजार पु-याउन सक्ने अवस्था रहेन। खाल्डो खनेर १२ लाख बराबरको च्याउ पुरे विक्रमले। श्रीमतीको वचनले रोकिए।
भविष्य खोज्दै ७२ मा सेक्युरिटी गार्ड बनेर परदेश उडे। गार्डको नोकरी गर्दागर्दै ‘गार्डेन’ हेरचाह गर्ने रुचि पलायो। साहुलाई भनेर अलिकति पैसा थपिदिए गार्डको पनि रेखदेख गर्छु, भने। दाम थोरै काम धेरै पाएपछि हुन्न भन्ने कुरै आएन। त्यसपछि सेक्युरिटी गार्डसँगै बगैंचा हेरचाह गर्न थाले। सँगसँगै तरकारी र फलफुल उब्जाउन सिके। ‘कमाइ पनि राम्रै हुन्थ्यो। गार्डेन गोडमेलको ३ सय रुपैयाँ महिनाको आउँथ्यो,’ उनले सुनाए।
परदेशिएको पनि ३ वर्ष पुगि सकेको थियो। कतिञ्जेल मन थामेर सक्नु? ३ वर्ष लामो बसाइँपछि नेपाल ०७५ मा फर्किए। यही मेसोमा घरजम पनि भयो।
बिहेको केही समयपछि विदेश जाने सुरसार कस्दै थिए। त्यहाँ उनले बुझ्नुपर्ने केही रकम पनि छोडेर आएका थिए। विदेश फर्किने दिन नजिकिँदै थियो। भर्खरै त बिहे भएको थियो। भर्खरै माया गाढा बन्दै थियो। तर, उनलाई जानु त थियो नै।
अन्तिम समयसम्म पनि जाने नै मनसायमा थिए। तर, श्रीमतीले यतै केही गरौं भनेर रोकिन्। ‘बरु बाख्रा पालौं, कुखुरा पालौं। अरु नेपालमै बसेर गरिराखेकै छन् नि ! तपाईं फेरि त्यता (कतार) नजाँदा हुँदैन ?’ श्रीमतिले भनेको सम्झिन्छन्, विक्रम।
उनलाई पनि ठिकै लाग्यो। परिवार पनि साथै हुने। नेपालमै केही गरेर विदेशिनु पर्दैन भने त राम्रै हो। घर–परिवार सल्लाह भयो। काठमाडौंमा उनका ठूला बुवाले च्याउखेती गरेर मनग्गे आम्दानी गरिरहेकै थिए। रुचि त उनको पनि बंगैचा हेरचाह गर्नेतिर बसिसकेको थियो। ठूला बुवाले राम्रो गरे मैले पनि गर्न सक्छु जस्तो लाग्यो। अनि च्याउ खेतीबारे सिक्न काठमाडौं पुगे विक्रम।
व्यवसाय त सुरु गर्ने। तर, पर्याप्त लगानी छैन। विक्रमसँग थियो ५० हजार रुपैयाँ। ऋणै काढेर व्यवसाय थाले पनि एकजना सहकर्मी भए सजिलो हुन्थ्यो जस्तो लाग्यो। ‘ठूलो बुवा, दाइ सबैले सहयोग गर्नुभयो। अरुसँग १/२, १/२ माग्दामाग्दै १४, १५ लाख जम्मा बन्यो,’ विक्रम सुनाउँछन्, ‘ऋण ठूलो भए पनि कमाइ राम्रै होला, उठिहाल्ला भनेर सोचेर झ्याम्मै लगानी गरिहालें।’
मासिक २५ हजार रुपैयाँमा ६ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती सुरु गरे। साढे ४ रोपनीमा च्याउखेतीका लागि टहरो बन्यो। पहिलो वर्ष राम्रै भयो। राम्रै चल्दै थियो। एकाएक कोरोना महामारी सुरु भयो। सहकर्मी बिरामी परे। व्यवसायबाट हात झिके। उनी एक्ला भए।
साउनमा मात्रै १० लाख रुपैयाँ बराबरको च्याउ फाले। वातावरण नमिलेका कारण जम्मै च्याउ बिग्रियो। च्याउ खेती डुबेपछि विक्रम अहिले १२ लाख ९० हजार ऋणमा छन्। ऋणको भार थेग्न नसकेपछि विक्रमले भाडामा लिएको जग्गा छाड्दैछन्। केही महिनापछि नेपाल पनि छोड्दै छन्, विक्रम।