शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार दृढ छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार दृढ रहेको बताएका छन्।

मंगलबार दिउँसो कार्यालय सिंहदरबारमा वाइसियल नेपालद्वारा पेश भएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, 'सरकार र सरकारलाई समर्थन गर्ने सबै राजनीतिक दलहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालिन न्यायको मान्यता अनुरुप शान्ति प्रक्रिया टुंग्याउन सहमत छन्। केही प्राविधिक कारणले मात्र रोकिएको हो।'

उनले जनताका पक्षमा राम्रा कामहरुको शुरुवात भएकाले त्यसको जनतामा प्रचार गर्नुपर्ने बताए।

उनले वाइसियलका युवाहरुले राखेको मागहरुमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिवर्तनको रक्षाका लागि युवाहरु सचेत र सजग हुनुपर्ने बताए।

प्रधानमन्त्रीले अलिकति राजनीतिक उतारचढावका कारण सोचे जस्तो गरी काम गर्न नसकेपनि सरकारको पूर्णतासँगै कामले गति लिने बताए।

वाइसियल नेपालले व्यवस्था विरोधी अराजक गतिविधिहरुको नियन्त्रण, संविधानको रक्ष, विकास र व्यवस्थाको सदृढीकरण, जनयुद्ध, जनआन्दोलन लगायतका व्यवस्था परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा बलिदान दिने सहिदहरुलाई राष्ट्रिय सहिदको घोषणा र तिनका परिवानजनहरुलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरी उचित राहत, क्षतिपूर्ति र व्यवस्थापन गर्नुपर्ने, अर्थतन्त्रमा देखिएको संकट मजबुत बनाउन पहल लिनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र पेश गरेको छ।

प्रकाशित मिति: : 2023-03-07 18:24:00

प्रतिकृया दिनुहोस्