शेखर कोइराला र नेविसंघका नेताहरुबीच छलफल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र इतर समूहका नेपाल विद्यार्थी संघका नेताहरुबीच भेटवार्ता भएको छ।

भेटमा चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको नेविसंघका नेता विनोद शाहीले बताए।

नेता कोइरालासंग भएको छलफलका क्रममा विद्यार्थी नेताहरूले देशैभरका विभिन्न क्याम्पसका नेविसंघमा योगदान गरेका विद्यार्थी नेताहरुलाई टिकट दिनुपर्ने, स्ववियु निर्वाचनको तयारी, नेविसंघ केन्द्रीय अध्यक्षले गरेका एकलौटी अवैध गतिविधि नमान्ने लगायतका गुनासाे राखेका थिए।

यस्तै ती सबै निर्णय तत्काल फिर्ता गरी वैधानिक तरिकाले अगाडि बढाउने, स्ववियु निर्वाचनको अप्राकृतिक गठबन्धन स्वीकार गर्न नसकिने लगायतका विविध बिषयमा छ्लफल भएको थियो।

उक्त भेटका क्रममा नेता कोइरालाले पार्टी नेतृत्वसंग गम्भीर तरिकाले संवाद गरिने र योगदान गरेका विद्यार्थी नेताहरुलाई क्याम्पस नेतृत्वको जिम्मेवारी दिलाउन पहल गरिने बताएका थिए।

नेविसंघका नेता शाहीले भने, 'स्ववियु निर्वाचनको सन्दर्भमा हाम्रो समूहले गृहकार्य गरिरहेको छ, न्यायोचित हुनेगरी त्यहीअनुसार हामी अगाडि बढ्छौँ।'

प्रकाशित मिति: : 2023-03-07 12:00:00

प्रतिकृया दिनुहोस्