आरनका आधुनिक साधन वितरण

बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ। 

आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पङ्खा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो। उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आरनका साधन हस्तान्तरण गरेका थिए। 

त्यस अवसरमा नगरप्रमुख पाण्डेयले परम्परागतरूपमा आरन चलाएर जीविका चलाउँदै आएका व्यवसायीको पेसालाई निरन्तरता दिँदै स्वरोजगार बन्न मद्दत गरेको बताए। 

उनले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताए। बुटवल उपमहानगरपालिकाका आन्तरिक स्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकालाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरिएको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताए। 

आप्रवासी परिवारलाई वित्तीय तथा मनोपरामर्श तालिम

यस्तै बुटवलमा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बुटवल उपमहानगरपालिकाको नेतृत्वमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो। तालिममा सहभागी एक सय १० जनालाई बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रमाणपत्र हस्तान्तरण गरे। 

त्यस अवसरमा नगर प्रमुख पाण्डेयले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउँदै वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्सलाई फजुल खर्चमा प्रयोग नगरी रोजगार सिर्जना र उत्पादनमूलक काममा लगाउन आग्रह गरे। वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरी भविष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको रोजगार संयोजक अरविन्द पाण्डेले बताए। 

प्रकाशित मिति: : 2023-03-01 18:02:00

प्रतिकृया दिनुहोस्