नामकरण माग गर्दै सांसद पाठकले भने- अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?

नेकपा एमाले प्रदेश १ का प्रदेशसभा सदस्य तिलचन पाठकले प्रदेशको नामकरण नहुँदा शिर निहुर्याएर हिँड्न बाध्य भएको बताएका छन्।

उनले पहिचानविहीन प्रदेशसभाको सदस्य बनेको बताउँदै आफूहरूले लगाएको प्रदेशको लोगोले समेत जिस्काउन थालेको बताए।

शुक्रबार प्रदेशसभाको विशेष समयमा बोल्दै उनले प्रदेशको नाम राख्न नसक्दा जनताले चौतर्फी आलोचना गर्न थालेको बताए। 'नाम राख्न नसक्ने तपाईंहरू बाट खै के आश गर्ने ? जनताले प्रश्न गर्न थालेका छन्,' उनले भने।

जातीय तथा सांस्कृतिक विविधतायुक्त बाहुल्यता भएको प्रदेश भएकाले भूगोल, संस्कृति र जनसंख्याको वृहत् हिस्साको प्रतिनिधित्व हुनेगरी नामकरण हुनुपर्ने बताए।

'यहाँको इतिहास, भूगोल, संस्कृति र सभ्यतासहित सबै जातजाति र समुदायको प्रतिनिधित्व हुनेगरी सबै जनताले साझा थलो महशुस गर्नेगरी तत्काल नामकरण गर्नुपर्छ', पाठकले भने। यही अधिवेशनबाट प्रदेशको नामकरण गर्न उनले सरकारसँग माग गरेका छन्। 

सरकारले तत्काल सबैको सहमति हुने खालको नाम सदनमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ। उनले अगाडि प्रश्न गरे, अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?'

प्रकाशित मिति: : 2023-02-24 21:58:00

प्रतिकृया दिनुहोस्