नेपालको तेस्रो राष्ट्रपति नेपाल कि पौडेल ? ओलीको बोली नै निर्णायक

नेपालको तेस्रो राष्ट्रपतिको उम्मेद्वारी दिने भोली शनिबार आउन अरू २४ घण्टा पनि बाँकि छैन। तर, अझै पनि को को उम्मेद्वार हुन्छन् र को विजयी हुन्छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन।

राष्ट्रपति जित्नका लागि आवश्यक पर्ने मतभार अहिले कुनै एक दलसँग छैन। त्यसका लागि दुईभन्दा बढी दलको गठबन्धन बन्नुपर्ने हुन्छ। यतिबेला सरकार बनाउँदा बनेको गठबन्धन लगभग बिसर्जन हुने अवस्थामा पुगेको छ भने चुनावताकाको गठबन्धन पनि पुरै बिउझिसकेको छैन।  

गणतन्त्र नेपालको राष्ट्रपति अलंकारिक भए पनि पहिलो र दोस्रो राष्ट्रपतिले जुन किसिमको गैरसंवैधानिक शक्तिको अभ्यास गरे, त्यसले राष्ट्रपतिलाई लगभग कार्यकारी बनाएको छ। उनीहरूले संविधानका छिद्रहरूलाई खोज्ने मात्र हैन, हाकाहाकी संविधान नै उलंघन गर्दा पनि केही गर्न सक्ने स्थिति बनेन। त्यसैले यतिबेला सबै ठूला दल राष्ट्रपति पद नै आफ्नो ढोक्सामा पारेर आवश्यकअनुसार उपयोग गर्ने रणनीतिमा पुगेका छन्। यही पछिल्लो रणनीतिका कारण यो अलांकारिक पद आफ्नो पक्षमा पार्न ठूला दल मात्र हैन, देशी तथा विदेशी शक्तिकेन्द्रहरू पनि हात धोएर लागेका छन्।

राष्ट्रपति उम्मेद्वारी दिने पूर्वसन्ध्यामा यो मुद्दा ज्यादै पेचिलो बनेको छ। र, आज दिनभर हुने चलखेलपछि सम्भवत: साँंझसम्म नेपालको तेस्रो राष्ट्रपतिको सम्भावित नाम सार्वजनिक हुने छ। विहीबार साँंझसम्म भएका दुईपक्षीय र बहुपक्षीय बैठकपछि अब नेपालको तेस्रो राष्ट्रपति को बन्ने भन्ने रोष्टर धेरै साँघुरिएको छ।

कुनै नाटकीय परिवर्तन भएन भने नेपालको तेस्रो राष्ट्रपति माधव नेपाल  र रामचन्द्र पौडेलमध्ये एक बन्नेछन्। एमाले अध्यक्ष ओली नेपाललाई उम्मेद्वार बनाउन सहमत भए भने नेपाल राष्ट्रपति हुनेछन् तर उनी सहमत भएनन् भने पौडेलको पक्षमा पासा पल्टिने छ।  

सम्भवत: आज शुक्रबार हुने एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीचको बैठकले नै नेपालको तेस्रो राष्ट्रपति को बन्ने निर्णय गर्नेछ। विहीबार साँंझ नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेद्वार बनाउने निर्णय गरेपनि प्रचण्डले शुक्रबार ओलीसँग हुने बैठकपछि मात्र अन्तिम निर्णयमा पुग्न सकिने बताएका छन्। 

एमाले अध्यक्ष ओलीले यसअघि नै माधव नेपाललाई राष्ट्रपतिका रूपमा प्रस्ताव गरेको कुरा बाहिर आए पनि उनले नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई नेकपा एमालेमा बिलय गर्नुपर्ने शर्त राखेका थिए। तर, प्रचण्ड र माधवले पुरानै नेकपा ब्युताउने काउन्टर शर्त राखेपछि ओलीको नयाँ पोजिसन के हुन्छ भन्न सकिने स्थिति छैन। यदि ओली नेपाललाई राष्ट्रपति उम्मेद्वार बनाउन सहमत भए भने सम्भवत: कांग्रेसले पनि राष्ट्रपतिको उम्मेद्वारी नदिन सक्छ। तर, ओली त्यसका लागि तयार भएनन् भने चुनावताकाको पाँचदलीय गठबन्धन ब्युताएर नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको  उम्मेद्वार बनाइन्छ। त्यस्तो अवस्थामा प्रचण्ड चार वर्षका लागि प्रधानमन्त्री र पाँचौ वर्ष माधव कुमार नेपाल प्रधानमन्त्री हुन सक्छन्।

यसरी हेर्दा अब नेपालको तेस्रो राष्ट्रपति माधव नेपाल र रामचन्द्र पौडेलमध्ये एक हुने सम्भावना बढ्दो छ। पौडेल उम्मेद्वार हुँदा एमालेले पनि उम्मेद्वार दिन सक्ने भएकाले चुनाव नै हुने स्थिति हुन्छ भने नेपाल उम्मेद्वार हुँदा राष्ट्रिय सहमतिको उम्मेद्वार हुने सम्भावना हुन्छ।  

नेपालको तेस्रो राष्ट्रपति नेपाल हुने कि पौडेल त्यसको निर्णय ओली र प्रचण्डबीचको आज हुने बैठकले तय गर्ने छ। अझ त्यसमा पनि ओलीको निर्णय नै निर्णायक हुने देखिन्छ। त्यसैले यतिबेला सबैको ध्यान यही बैठकतिर तानिएको छ। 

बैठकको निर्णयपछि नै कांग्रेसले आफ्नो निर्णय गर्नेछ। त्यसपछि को राष्ट्रपति हुने लगभग चित्र सार्वजनिक हुन्छ। चुनाव हुने फागुन २५ गते अझै टाढा भएकाले त्यसबीचमा केही नहोला भन्न सकिन्न। किनकि, नेपालको राजनीति यतिबेला थेसिसले हैन, एन्टिथेसिसले चलेको छ। नेपालको राजनीतिमा के हुन्छ भन्दा पनि के हुँदैन भन्ने स्थिति छ। 

यो परिस्थिति सिर्जना गर्नमा राजनीतिक दल र तिनका शीर्ष नेता जति जिम्मेबार छन्, नेपाली जनता पनि कम जिम्मेवार छैन। राज्यका हरेक क्षेत्रले पनि यसमा धेरथोर योगदान दिएका छन्।  

प्रकाशित मिति: : 2023-02-24 10:06:00

प्रतिकृया दिनुहोस्