प्रभु साहको प्रश्न- विद्युत प्राधिकरण कुन गिरोहले चलाइरहेको छ? (भिडियाे)

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले ‘नेपाल विद्युत प्राधिकरण’ कसले सञ्चालन गरिरहेको भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्दै सांसद साहले विद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा छ कि छैन भन्दै प्रश्न उठाएका छन्।

‘नेपालविद्युत प्राधिकरण नेपाल सरकारको मातहतमा छ की छैन? भन्ने जान्न चाहन्छु। नेपालकै कानुनअनुसार चलिरहेको छ कि कुनै गिरोहले चलाइरहेको छ? विद्युत प्राधिकरणका एमडी कानुनकै भित्र हो कि कानुनभन्दा माथि छन्? हामी जान्न चाहन्छौँ, विद्युत प्राधिकरणका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दै गम्भीर विषय खडा भएको छ’, सांसद साहले प्रश्न गरेका छन्।

रौतहटको मौलापुर नगरपालिका-५, पतौरास्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मौलापुर नगरपालिकाद्धारा आयोजित मधानी महायज्ञको गत शनिबार उपराष्ट्रपति नन्दबहादुर पुन उदघाटन गर्न पुग्दा विद्युत प्राधिकरणको आधिकारिक फेसबुक एकाउण्टबाट विरोध गर्नु र नियतबस विद्युत लाइन काटेर कार्यक्रम अवरुद्ध गरिएकोमा उनले ध्यानाकर्षण गराएका छन्।

विद्युत प्राधिकरण मौलापुर शाखाद्धारा लाईन काटेर उपराष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम मधानी महायज्ञलाई अवरुद्ध गर्ने उदेश्य देखिएको उनले बताए। लाइन काटेर अवरुद्ध गरेपछि सर्वसधारण सेवाग्राहीले सोधखोज गर्दा ‘गुण्डागर्दी’ शैलीमा अगाडि बढेपछि नियम कानुन कर्मचारीले कार्यान्वयन गर्ने की नगर्ने, सेवाग्राहीमाथि नै आक्रमण गर्ने काम भएको छ।

‘उपराष्ट्रपति सहभागी हुने कार्यक्रमलाई अवरुद्ध गर्न खोज्नु, पहिले हामीले बर्दिवाला गुण्डा सुनेका थियौं, तर अहिले विद्युत प्राधिकरणमा त्यहाँभन्दा पनि बढी हद भइरहेको छ। अन्तमा विद्युत काटनेलाई पक्राउ गरी कारवाही गर्ने आदेश सिडिओबाट आएपछि मात्रै लाइन दियो’, पूर्वमन्त्रीसमेत रहेका साहले भने।

विद्युत प्राधिकरणमा नियम कानुनअनुसार कर्मचारीसमेत भर्ना नगरिएको औल्याउँदै उनले कानुनविपरीत विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तजविजको आधारमा चलिरहेको भन्दै उनले कानुनी प्रश्न उठाएका छन्।

प्रकाशित मिति: : 2023-02-22 17:32:00

प्रतिकृया दिनुहोस्