राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट भएको छ। राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो।

सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राखेका राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्दै आफ्ना भारतीय समकक्षी र भारतीय उच्च नेतृत्वप्रति शुभकामना र शुभेच्छा प्रकट गरेका छन्।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आगेका छन्। यस अघि उनले आजै परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भने सचिवस्तरीय बैठकमा सहभागी भएका थिए।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-02-13 18:46:00

प्रतिकृया दिनुहोस्