विश्वासकाे मत

प्रचण्डलाई १० दलको साथ, विश्वासको मत पाउनेमा ढुक्क

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) बस्ने प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिँदैछन्।

सरकारलाई समर्थन गरेको नेकपा (एमाले)ले गत फागुन १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत फागुन १३ गते समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका थिए। कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले त्यसको ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुसार प्रधामन्त्री प्रचण्डले चैत १३ गतेभित्र विश्वासको लिनुपर्ने हुन्छ। यद्वपि, प्रधानमन्त्री प्रचण्डले एकहप्ता अगाडि नै विश्वासको मत लिँदैछन्।

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्दै पुरानो गठबन्धन ब्युँत्याएपछि एमाले र राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेका थिए। त्यसयता सत्ता समीकरणमा परिवर्तन आएको थियो। राष्ट्रपति निर्वाचन पश्चात राजनीतिक समीकरणमा फेरबदलपछि एमाले र राप्रपा प्रतिपक्ष बनेका छन्।

प्रतिनिधिसभाको दोस्रो ठुलो दल एमाले र पाँचौं ठुलो दल राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निश्चित छ। त्यस्तै यसअघि पनि विपक्षमा उभिएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

प्रतिनिधिसभामा हाल एमालेका ७९ जना, राप्रपाका १४ जना र नेमकिपाका १ जना सदस्य रहेका छन्। २ सय ७३ सदस्यीय (निलम्बनमा परेका संसदबाहेक) प्रतिनिधिसभामा यी तीन दलका ९४ सदस्यबाहेक अन्य सबैले सरकारलाई विश्वासको मत दिने निश्चित छ।

प्रतिनिधिसभाको पहिलो दल नेपाली काँग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंखर हलमा बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रतिनिधिसभा काँग्रेसका ८९ जना सांसद रहेको छन्।

त्यसैगरी संसदको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा वसुन्धारामा आइतबार बिहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताएका छन्। प्रतिनिधिसभामा रास्वपाका १९ जना सांसद रहेका छन्।

यता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पनि सोमबार सरकारलाई विश्वासको मत दिएर सत्ता पक्ष बन्ने निर्णय गरिसकेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता जगननाथ खतिवाडाले जानकारी दिए।

त्यसैगरी सत्ता गठबन्धमा रहेको जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुत्ति पार्टी (नाउपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)ले सरकारलाई विश्वासको मत निर्णय गरिसकेका छन्। प्रतिनिधिसभामा जसपाका १२, नाउपाका ३, जनमतका ६, राजमोको १ र लोसपाका ४ सांसद रहेका छन्।

त्यस्तै अन्य चार स्वतन्त्र सांसदहरुले पनि सरकारलाई विश्वासको मत दिने बताएका छन्। भने, प्रतिनिधिसभा माओवादी केन्द्रका ३२ सांसद रहेका छन्।

एमालेका ७९ जना, राप्रपाका १४ जना र नेमकिपाका १ जना गरी कुल ९४ जनाबाहेक अन्य १ सय ७८ सांसदले प्रचण्डलाई विश्वासको मन दिने देखिएको छ। २ सय ७५ सदस्सीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नको लागि १ सय ३८ मत आवश्यक हुन्छ। यसरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत पाउनेमा ढुक्क बनेका छन्।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। त्यतिबेला प्रचण्ड सरकारको विपक्षमा जम्मा दुई मत (नेमकिपा १ र राजमो १) मात्रै खसेको थियो।

प्रकाशित मिति: : 2023-03-20 07:50:00

प्रतिकृया दिनुहोस्