नवनिर्वाचित राष्ट्रियसभा सांसद दसौँदीले लिए शपथ

नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दसाैंदीले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।

शुक्रबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद दसौंदीले पद तथा गोपनियताको शपथ लिएका हुन्।

नेकपा (एमाले)का सांसद दसाैंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेकाे स्थानमा दसौंदी आएका हुन्।

राष्ट्रियसभा सदस्यमा निर्वाचित कुमार दसौंदी को हुन्?

लुम्बिनी प्रदेश भूगोलबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा एमालेका कुमार दसौंदी रोल्पाको रुन्टीगढी गाउँपालिका–५ निवासी हुन्। बुधबार भएको निर्वाचनमा दसौंदीले रोल्पाकै काँग्रेसका माधवप्रसाद आचार्यलाई पराजित गरे।

दसौंदीले ४ हजार २६ मतभार प्राप्त गर्दा आचार्यले ३ हजार ७२० मत प्राप्त भार प्राप्त गरे।

वि.स. २०३६ सालबाट विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका दसौंदी लामो समयसम्म जिल्लामा पार्टी नेतृत्वको जिम्मेवारीमा बसे। उनी माओवादीको सशस्त्र युद्धताका रोल्पमा पार्टीको संगठन विस्तारका लागि लागेका थिए।

उनै दसौंदी अहिले माओवादी केन्द्रलगायतका दलहरुको सहयोगमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। दसौंदी २०४१ सालमा शिक्षक संगठनमा आवद्ध भए। उनी ०४७ मा जिल्ला पार्टी सक्रिय सदस्य र ५० सालमा पार्टीको उपसचिव बनेका थिए।

०५४ सालदेखि ५९ सालमा पार्टीको जिल्ला सचिव बनेर पार्टीको नेतृत्व सम्हालेका दसौंदी तीन पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बने पनि तीन पटक नै पराजित भएका थिए। दसौंदी ०५१, ५६ र ७० सालमा प्रतिनिधिसभाका लागि उम्मेदवार भएका थिए। उनी चाैथाे पटक सांसद बनेका हुन्।

१०औँ महाधिवेशनदेखि उनी पार्टीको केन्द्रीय सदस्यमा रहेका छन्।

प्रकाशित मिति: : 2023-02-10 15:54:00

प्रतिकृया दिनुहोस्