केशवराय चौधरीले छाडे प्रभु साहको साथ

फाइल तस्बिर
फाइल तस्बिर

प्रभु साह नेतृत्वको आमजनता पार्टी परित्याग गरी केशव राय चौधरी एमालेमा प्रवेश गरेका छन्। 

गत मंसिरमा सम्पन्न निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित चौधरी शुक्रबार एमाले प्रवेश गरेका हुन्।

गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रभु साह र ३ (क)बाट चौधरी निर्वाचित भएका हुन्। एमालेबाट टिकट पाए पनि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

साहकै टिमबाट चौधरी, कुन्दन कुश्वाहाले मनोनयन दर्ता गरेका थिए। तर, कुश्वाहा पराजित भए। निर्वाचनको परिणाम सार्वजनिक भएपछि साहको नेतृत्वमा गठन भएको आमजनता पार्टीमा कुश्वाहा विभागीय संगठन प्रमुखको जिम्मेवारी पाउँदा चौधरी केन्द्रीय सदस्य बनेका थिए। 

अन्ततः चौधरी शुक्रबार एमालेमा प्रवेश गरेका हुन्। शुक्रबार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेको सदस्यता लिएर चौधरीले प्रभु साहको साथ छाडेका हुन्। 

प्रकाशित मिति: : 2023-02-03 14:14:00

प्रतिकृया दिनुहोस्