सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ।

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सूचना वर्गीकरण समितिले कुन सूचना दिने र कुन नदिने भन्ने सम्बन्धमा गरेको निर्णयका सम्बन्धमा सरोकारवाला पक्षले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।

गत पुस १० गते दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सूचना वर्गीकरण समितिले गत पुस १२ गते कुन सूचना दिने वा नदिने भनेर निर्णय गरेको थियो। सम्बन्धित उच्च नेतृत्वलाई कुनै जानकारी नै नदिई समितिले गरेको निर्णयले समस्या पार्ने देखिएपछि प्रधानमन्त्रीले नै छलफल गर्न लागेका हुन्।

प्रेसविज्ञ तिमिल्सिनाले भने, 'सूचना वर्गीकरणसम्बन्धी समितिले गरेको निर्णयका बारेमा विभिन्न निकायबाट व्यक्त चासोका बारेमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। भोलि सोमबार सरोकारवाला पक्षहरूसँग छलफल गरी समस्या समाधानबारे आवश्यक निर्णय लिइनेछ।'

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल, सूचना विभाग, नेपाल पत्रकार महासङ्घलगायतका संस्थालाई आमन्त्रण गरिएको छ।

प्रकाशित मिति: : 2023-01-29 17:14:00

प्रतिकृया दिनुहोस्