प्रदेश १ को मुख्य न्यायाधीवक्तामा आचार्य नियुक्त

प्रदेश १ को मुख्य न्यायाधीवक्तामा एमाले निकट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले आचार्यलाई मुख्य न्यायाधीवक्ता नियुक्त गरेका हुन्।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधीवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधीवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधीवक्ताले काम गर्नुपर्छ। मुख्य न्यायाधीवक्तामा नियुक्त भएका आचार्य नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष पनि छन्।

आचार्य २०७१ सालमा नेपाल बार एसोसिएसन झापाका अध्यक्ष भएका थिए। राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका आचार्यले २०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए।

नवनियुक्त मुख्य न्यायाधीवक्तामा आचार्यको आजै शपथ ग्रहण हुने बताइएको छ।

प्रकाशित मिति: : 2023-01-25 12:07:00

प्रतिकृया दिनुहोस्