को हुन् उपसभामुख इन्दिरा राना मगर ?

BreaknLinks
BreaknLinks

सत्ता गठबन्धनबाट उपसभामुख पदमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन।

उपसभामुख पदको निर्वाचनमा २ सय ६८ सदस्य उपस्थित भएकामा राना मगरको पक्षमा १ सय ६६ मत खसेकाे छ। राना मगर पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद हुन्।

उपसभामुख राना मगरकाे जन्म वि. सं. २०२७ सालमा झापाको शनिश्चरे– ६ मा भएकाे थियाे।

साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन। उनकाे काठमाडाैँकाे नयाँबजारमा बालगृह र साँघुमा विद्यालय रहेका छन्, जहाँबाट उनले सयाैँ बालबालिकाहरुलाई पढाउँदै आएकी छिन्।

उनी ‘बन्दी सहायता नेपाल’ नामक संस्थाको संस्थापक समेत हुन्। राना मगरको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र सञ्चालन गर्दै आएकाे छ। उनले आफ्नाे काेखबाट एक मात्रै सन्तान (सुबानी रानामगर)लाई जन्म दिए पनि सयाैँ सन्तानहरुलाई कर्म दिएकी छन्। त्यसैले उनलाई सयौं बालबालिकाकी ‘आमा’ पनि भनिने गरिन्छ।

उनलाई सन २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन। भने, सन २००५ मा ‘अशोका फेलो’ पाएकी उनी दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छिन। त्यस्तै उनले सन २००९ मा एसियाका शीर्ष २१ नेतृत्वले पाएकाे जनसेवा अवार्ड पाएकी थिइन। त्यसैगरी सन २०१७ मा बिबिसीको प्रेरणादायी तथा सिर्जनशील महिलाहरूको सूचीमा परेकी थिइन।

साहित्यकार पारिजातकी दाैतरीसमेत रहेकी राना मगरले स्नातक तहसम्मकाे अध्ययन पूरा गरेकी छन।

उनकाे याे राजनीतिमा पहिलाे अनुभव हाे। सामाजिक कार्यमा सक्रिया राना मगर केही महिनाअघि मात्रै राजनीतिमा जाेडिएकी थिइन्। उनी पहिलाे प्रयासमा नै उपसभामुख बन्न सफल भएकी हुन्।

प्रकाशित मिति: : 2023-01-21 17:32:00

प्रतिकृया दिनुहोस्