भ्रष्टाचार नगर्ने कसम खाएकाे राप्रपाले बनायाे भ्रष्टाचार अभियाेग लागेका पाण्डेलाई मन्त्री

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए। शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए। तर, अहिले उनले ठेकेदार पृष्ठभूमिका सांसदलाई मन्त्री बनाएका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ। राप्रपा पार्टी अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो। लिङ्देन उपप्रधानमन्त्री र ऊर्जामन्त्री, कानुन मन्त्री ध्रुवबहादुर प्रधान र सहरी विकासमन्त्री विक्रम पाण्डे बन्दैछन्।

चितवन ३ बाट निर्वाचित पाण्डे भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता हुन्। कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए। तर सत्ता गठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन्। सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो।

पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ। अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ। उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। लामिछाने नागरिक र राहदानी विवादमा तानिएका छन्। आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि लामिछाने गृहमन्त्री बनेको आरोप लागेको छ। पाण्डे पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सहरी विकास मन्त्री बन्न लागेका छन्।

प्रकाशित मिति: : 2023-01-17 12:43:00

प्रतिकृया दिनुहोस्