सुदूरपश्चिमकाे सभामुखमा माओवादीका भण्डारी निर्वाचित

File Photo
File Photo

सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा माओवादी केन्द्रबाट निर्वाचिन प्रदेशसभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन्।

मंगलबार सभामुख चयनका लागि प्रदेशसभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेशसभा सदस्यले मत दिएका थिए। बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि जेष्ठ प्रदेशसभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन्।

मंगलबार बसेको प्रदेशसभा बैठकमा ५२ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेशसभा सदस्यले मतदान गरेका थिए।

भण्डारी नेकपा माओवादी केन्द्रका ११, नेकपा एमोका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेशसभा सदस्यको समर्थनमा सभामुख बनेका हुन्।

प्रदेशसभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर रावलले भने २३ मत मात्रै पाएका थिए। उक्त मत प्रदेशसभामा तत्काल कायम रहेको प्रदेशसभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै जेष्ठ प्रदेशसभा सदस्य भट्टले अस्वीकृत गरेका थिए।

रावललाई नेपाली कांग्रेसका १९ र नेकपा एकिकृत समाजवादी पार्टीका ४ प्रदेशसभा सदस्यले समर्थन दिएका थिए। प्रदेशसभाको अर्को बैठक बुधबार (भोलि) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

प्रकाशित मिति: : 2023-01-17 11:32:00

प्रतिकृया दिनुहोस्