बागमतीको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले साेमबार जम्कट्टेललाई बागमतीकाे मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

जम्कट्टेललाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थन रहेकाे छ।

उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसदले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए।

हाल बागमती प्रदेशसभामा नेपाली कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहित एक सय १० जना सांसद छन्।

गत मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा जमकट्टेल धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2023-01-09 14:16:00

प्रतिकृया दिनुहोस्