प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आग्रह गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयका साेमबार बसेको बैठकले प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हाे।

बैठकमा प्रधानमन्त्रीले सरकार गठनको क्रममा समर्थन गर्ने दल र सांसदका अलावा नेपाली कांग्रेसलगायतका अन्य दल तथा सांसदहरुसँग पनि छलफल भएको जानकारी गराएका थिए।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ। प्रधानमन्त्रीले मङ्गलबार विश्वासको मत लिँदैछन्।

सरकार गठनको क्रममा कूल एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए। संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2023-01-09 13:40:00

प्रतिकृया दिनुहोस्