स्थानीय तह निर्वाचन

रोल्पा : माओवादी केन्द्रविरूद्ध ‘एमाले–कांग्रेस’ एक ठाउँमा

बिएल संवाददाता

गंगादेव, रोल्पा

आउँदो चुनावलाई ध्यानमा राखेर सत्ता गठबन्धनका दलहरूले तालमेलको पहल गरेका छन्। केन्द्र र जिल्ला–जिल्लामा सत्ताधारी नेताहरूबीच गठबन्धनको संयन्त्र बनेको छ।

नेपाली कांग्रेसका शीर्ष नेता रामचन्द्र पौडेल पाँच दलीय गठबन्धनको तर्फबाट चुनावी कमान्डर तोकिएका छन्। तर, रोल्पामा भने ठ्याक्कै उल्टो अवस्था देखिन्छ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संयन्त्र बनाएर तालमेललाई अघि बढाउने सहमति गरेकै दिन गंगादेव गाउँपालिकामा छुट्टै अवस्था बनेको हो।

गाउँपालिकामा कांग्रेसका जिल्ला उपसभापति हरिबहादुर पुन, एमालेका गाउँ कमिटी अध्यक्ष रोशनकुमार वली, नेपाली कांग्रेस गाउँ पार्टी सभापति मीनबहादुर खड्का र कांग्रेसकै गाउँपालिका अध्यक्षका आकांक्षी दीपेन्द्रबहादुर डाँगी बसेर चुनावी छलफल गरेका छन्।

पुन र वली अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए। पुन कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका भाइ हुन्। गंगादेव पुनको गृह पालिका पनि हो।

अमरसिंह र हरि दुबै कांग्रेसभित्र शेखर कोइराला खेमाका हुन्। त्यसैले उनीहरू केन्द्रीय गठबन्धनको विरोधी देखिन्छन्। उनीहरू रोल्पामा चुनावी गठबन्धन माओवादीसँग होइन, एमालेसँग गर्नुपर्ने मत राख्छन्।

यता कांग्रेसका किशोर आचार्य, माओवादी अध्यक्ष सुरेन्द्र घर्तीथापा, एकीकृत समाजवादीका हरिप्रसाद घर्ती र राष्ट्रिय जनमोर्चाका मेघनाथ विष्टले संयुक्त विज्ञप्ति जारी गरेर जिल्लामा केन्द्रीय निर्देशनबमोजिम एमाले बाहेक गठबन्धनको पहल गरेका छन्।

उता माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा गंगादेव गाउँपालिका वीरबहादुर केसीविरूद्ध कांग्रेस–एमाले एकठाउँमा उभिएका छन्।

अध्यक्ष केसीले पालिकाभर गरेको अनियमितता र भ्रष्टाचारविरूद्ध दुई पार्टी ‘एकै लाइन’ मा उभिएर भण्डाफोर गर्ने माओवादी इतरका नेताहरू बताउँछन्।

प्रकाशित मिति: : 2022-04-05 16:12:00

प्रतिकृया दिनुहोस्