उखानै छ– ‘हात्ती छिर्यो, पुच्छर अड्कियो !’ यसलाई उल्टो पार्दिने हो भने ‘पुच्छर छिर्यो, हात्ती अड्कियो’ हुने रहेछ । यथार्थमा यी दुवै चिज हुँदैनन् । यसो हुन बिल्कुल असंगत अवस्था बन्नुपर्छ।
हात्ती छिर्ने ठाउँमा पक्कै पुच्छर पनि छिर्नुपर्ने हो, नअड्किनुपर्ने हो । ठीक त्यसैगरी, हात्तीभन्दा अगाडि पुच्छर कसरी छिर्ला र ? तर, प्रतीकात्मक अर्थमा यी दुवै चिज हुन्छ । हुने रहेछ । यतिखेर हाम्रो राजनीति र लोकतन्त्रको दुर्दशा चाहिं– ‘हात्ती छिर्यो, पुच्छर अड्कियो’ जस्तो हैन, ‘पुच्छर छिर्यो, हात्ती अड्कियो’ भने जस्तो छ ।
देशको आधुनिक इतिहासलाई हामी पृथ्वीनारायण शाहसँग जोड्छौं । यो संकथन आफैंमा अनौठो छ । ‘आधुनिकता’ केलाई भन्ने ? भूगोललाई ? राज्यको प्राथमिक तत्व के हो ? भूगोल हो कि मान्छे भन्ने प्रश्न यसले उठाउँछ । भूगोल भएर मान्छे नभएर राज्य बनेको संसारमा कहीं पनि देखिंदैन । त्यो भिन्नै कुरा हो कि राज्य बन्न भूगोल पनि चाहिन्छ । भूगोल विनाको राज्य, भूगोल विनाको राष्ट्र पनि छैन कतै ।