संसदीय दलको नेतामा देउवाविरुद्ध गगनको उम्मेदवारी, शेखर प्रस्तावक

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्।

मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेताकाे उम्मेदवार बनाउने निर्णाय गरेकाे हाे। थापाको प्रस्तावक डा.शेखर कोइराला बस्ने भएका छन्।

बैठकमा नेपाली कांग्रेसका ३२ जना सांसद उपस्थित भएका छन्। उनीहरू शेखर-गगननिकट हुन्। छलफलबाट एकल उमेदवारीसहित संसदीय दलको कार्यालयमा दर्ता गर्न जाने कार्यक्रम रहेको छ।

लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो। त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए। सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए।

वार्तामा उनीहरुबीच यही पाँच वर्षभित्रमा फेरि संसदीय दलको चुनाव हुने अवस्था आएमा शेखरलाई गगनले छाड्ने सहमतिसमेत भएकाे छ।

संसदीय दलको विधान बमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ। हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन्।

जसमध्ये देउवा समूहमा ५० जना सांसद छन् भने कोइराला-थापा समूहमा ३२ जना छन्। ७ जना सांसदहरु अहिलेसम्म कुनै पक्षमा प्रस्ट खुलिसकेका छैनन्।

याे आँकडा हेर्दा संसदीय दलकाे नेतामा देउवाले स्पष्ट बहुमत पाउने देखिन्छ। यद्यपि, इतर पक्षबाट गगन थापा एकल उम्मेदवार बनेमा युवा सांसदकाे मत काट्न सक्ने हुँदा देउवालाई चुनाैती हुने देखिन्छ।

प्रकाशित मिति: : 2022-12-20 12:29:00

प्रतिकृया दिनुहोस्