कांग्रेस संसदीय दल: देउवाविरूद्ध भिड्दै गगन, पछि हटे शेखर

File Photo
File Photo

नेपाली कांग्रेस संसदीय दलको नेतामा संस्थापनइतर समूहले महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बनाउने भएको छ।

‘शेखर–गगन’ समूहबीच कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरूद्ध महामन्त्री थापालाई अघि सार्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बिएल नेपाली सेवालाई जनाएका छन्।

कांग्रेसले संसदीय दलको नेता चयन गर्न चुनावी कार्यतालिका सार्वजनिक गरेसँगै संस्थापन समूह र संस्थापनइतर समूहले आ–आफ्ना उम्मेदवार संसदीय मैदानमा उतारेका छन्।

अहिले शेखर कोइराला र गगन थापा समूहको बैठक जारी छ। दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलिरहेको छ। गुटको बैठकअघि शेखर र गगनबीच छुट्टै भेट पनि भएको थियो।

स्रोतका अनुसार गुट जोगाउनका निम्ति दुई नेतामध्ये एकजना पछि हट्ने देखिन्छ। सोमबार राति बसेको शेखर र गगन समूहको बैठकमा यस विषयमा उनीहरू पनि सकारात्मक रहेको बुझिन्छ। संसदीय दलको नेतामा गगनलाई अघि सार्ने सहमतिका साथ शेखर पछि हटेको स्रोतकाे दाबी छ। यसअघि शेखर र गगन थापा दुबैले संसदीय दलको नेतामा आकांक्षा राखेका थिए।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन्।

प्रकाशित मिति: : 2022-12-20 10:11:00

प्रतिकृया दिनुहोस्