एमाले र माओवादी मिलेर सरकार बनाए के गर्ला एकीकृत समाजवादी?

File photo
File photo

आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ।

सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ। तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन।

संसदकाे दोस्रो ठूलाे दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोकाे विषय बनेको छ। कांग्रेससँग मिलेर चुनाव लडेकाले नयाँ सरकारमा कांग्रेससँग सहकार्य हुन सक्ने आंकलनका बाबजुद एमालेसँग हिमचिम बढ्नुले माओवादी केन्द्रको कित्ता क्लियर हुन अझै बाँकी देखिन्छ।

माओवादीले कांग्रेससँग सत्ता सहकार्यका लागि ठोस सहमति गरिनसकेको माओवादी केन्द्रका महासचिव देव गुरुङ बताउँछन्। गुरुङले यसअघि एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेपछि माओवादी एमाले हिमचिम थप बढेको आंकलन गरिएको छ।

यदि माओवादी केन्द्रले कांग्रेसको कित्ता छाडेर एमालेसँग मिलेर सरकार गठन प्रक्रियामा अघि बढ्यो भने एमाले विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी कता लाग्छ भन्ने विषय थप रोचक बनेको छ।

तत्कालीन नेकपामा रहँदा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच राम्रो केमेस्ट्री मिलेको थियो। सोही समयमा प्रचण्डप्रति नजिक बनेको भन्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीभित्र बेस्सरी पेलेपछि उनले पार्टी फुटाएका थिए।

कांग्रेससँगको गठबन्धनमा समेत सँगसँगै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी  निर्वाचनपछि पार्टी नै एकीकरणको गृहकार्यमा जुटेको बताइरहेका थिए। यद्यपि नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सत्ता समीकरण फेर्न एमाले माओवादी मिलेर कसरत गरिरहेका बेला एकीकृत समाजवादीमा कता लाग्ने भन्नेबारे अन्याेलता देखिन्छ।

यता एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधर माओवादी एमालेसँग मिल्न गए पनि आफूहरू यथास्थितिमा एमालेसँग सहकार्य नगर्ने बताउँछन्। उनी भन्छन्, ‘एमाले र माओवादी सत्ता स्वार्थका लागि मिल्नु अनैतिक र अवसरवाद हुन्छ। एउटासँग गठबन्धन गरेर चुनावमा जाने र अर्कोसँग मिलेर सरकार बनाउने कुरा नाजायज हुन्छ। हामी कता लाग्छौं भन्ने विषय उनीहरू मिलिसकेपछि थाहा हुन्छ।’

उनले एमाले अध्यक्ष ओलीले आत्मालोचना गरेर विगतमा गरेका गल्तीहरूमा क्षमायाचना गरे मात्र सहकार्यबारे सोच्न सकिने तर ठोकुवा गरेर भन्न सक्ने अवस्था नरहेको बताए। सत्ता स्वार्थका लागि गरिने गठबन्धनबाट जनता आजित भइसकेकाले यस्तो अवसरवादबाट माओवादी मुक्त हुनुपर्ने उपमहासचिव तुलाधर बताउँछन्।

प्रकाशित मिति: : 2022-12-16 17:20:00

प्रतिकृया दिनुहोस्