बाजुरामा मतगणना सुरु हुँदै

File Photo
File Photo

निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ।

एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो। विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो। १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन।

बुधबार निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गर्दै मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

स्याङ्जा २ मा बुधबार रातिदेखि नै मतगणना जारी छ। तर बाजुरामा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा उपस्थित नभएपछि बिहीबार बिहानका लागि बैठक सारिएको थियो। बिहान बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। जसअनुसार केहीबेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ।

प्रकाशित मिति: : 2022-12-01 15:43:00

प्रतिकृया दिनुहोस्