‘मार्सी धान राम्राे भएन, खेतमा आगाे लगायाैं’

'बोटमा दाना लागेकाे छैन। परालका डाँठबाहेक धान हात लागेनन्। धानमा के राेग लागेकाे हाे, थाहा भएन। चैतदेखिकाे मिहिनेत खेर गयो।'

याे मलिन स्वरमा अभिव्यक्त गरिएकाे आवाज तातोपानी–४ गौतमबाडाका ५६ वर्षीय बृखबहादुर गौतमकाे हाे। उनी धान उब्जनी हुने खेतमा जाँदा भक्कानिन्छन्।

पाेहाेर साल उनले घरमा १३ मुरी धान भित्र्याएका थिए। धानबालीले नै सालभरि खान पुग्ने उनको खेतमा धान नफल्दा याे साल भने बीउसमेत जोगिएको छैन।

तातोपानी–४ कै लोकबहादुर हमाल पनि धानबाली सखाप भएपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छन्। कात्तिके चामलमा बानी परेका उनलाई याे पाली सेताे चामल जाेहाे गर्नुपर्ने बाध्यता आइलागेकाे छ।

'सालभरि मार्सी धानकाे भात खान्थ्याैं। बाह्रै महिना पुग्थ्याे। याे पाली सेताे चामलकाे जाेहाे नगरी खान नपुग्ने भयाे,' उनले भने, 'जेठमा दुनियाँ जुटाएर खेतीपाती गर्‍यौं। असार र साउन गरी दुई पटक गाेडमेल गर्‍यौं। हरेक दिन पानी हाल्न गयाैं। धान लिन जाँदा रित्तो हात फर्किनु पर्‍यो।'

उनका अनुसार धानका पात कालो हुने र कुहिँदै जाने रोग देखियो। त्यसैले उत्पादन हुन सकेन। पशुलाई ओछ्याउनका लागि काटेको परालसमेत धुलिएर खेतमै खेर जाने भएपछि आगाे लगाएका छन्।

उनीजस्तै गाउँका अधिकांश किसानले धानको परालमा आगो लगाएकाे स्थानीय कोमलाल हमालले बताए।

धान उत्पादन नहुँदा ६० घरधुरी रहेको गौतमबाडामा यो वर्ष खाद्यान्न अभाव हुने सम्भावना बढेकाे छ। धानमा ठुलो क्षति भएपछि स्थानीयले तातोपानी गाउँपालिकामा निवेदन दिएका छन्।

धानमा लागेको रोग पत्ता लगाइदिन र रोग निवारणका लागि उपाय दिन पनि आग्रह गरिएकोमा गाउँपालिकाका प्राविधिकले बेवास्ता गरेको स्थानीय गंगादेवी उपाध्यायकाे भनाइ छ।

'घर भित्र्याउन थालिएको धानबारीमा आगो सल्काउनु रहर पनि होइन,' उनले भनिन्, '७८ भारी धान खेतमै आगो लगाएर जलाइएकाे छ। ६ महिना दुःख गरेकाे खेर गयाे। अब के खाने भन्ने चिन्ताले सताउन थालेको छ।'

धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुगेका थिए। किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको अधिकारीले बताए।

उनका अनुसार मार्सी धानमा ब्लास्ट रोगको संक्रमण भएको हो। उन्नत जातको धानमा यो रोगको खासै समस्या छैन। तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ।

उनले भने, 'धानको नमुना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौं। केन्द्रले फोटा कृषि अनुसन्धान परिषद्सम्म पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौं। तर धानमा लागेको रोग नियन्त्रणमा आएन।'

जुम्लामा २ हजार ९ सय हेक्टरमा धान खेती हुँदै आएकोमा १ हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। यो वर्ष कति धान उत्पादन भयो भन्नेबारे गाउँमा प्राविधिक पठाएर तथ्यांक संकलन भइरहेको अधिकारीले थपे।

प्रकाशित मिति: : 2022-11-04 13:44:00

प्रतिकृया दिनुहोस्