भन्सार छलीको सामान र पिकअप गाडीसहित एकजना पक्राउ

रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको सामान र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

गौर नगरपालिका-४ बसपार्कबाट चेकजाँचका क्रममा उक्त सामान बरामद भएको हो। 

जिल्ला प्रहरी कार्यलय रौतहटले बुधबार  एक प्रेस नोट जारी गरि प्र-२-०३-००१ज १३१ नम्बरको  पिकअप गाडीबाट किरानाको सामान बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायका अनुसार कटहरीया बस्ने बर्ष २२ को निरजकुमार साहलाई पक्राउ गरिएको छ। बरामद सामान र पिकअप गाडीको ७ लाख ९९ हजार ९६० मुल्यांकन गरिएको उनले जानकारी दिए।

बरामद सामान, पिकअप गाडी र पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्य लय रौतहटले जनाएको छ। पछिल्लो समयमा भारतसंग सीमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरू तस्करी हुने गरेको छ।

भारतीय बजारको विभिन्न सामाग्री विना भन्सार रौतहटको चन्द्रपुर, कटहरीया, गरुडा पुग्ने गरेको व्यापारीहरू बताउँछन्। विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामान भित्रिन थालेपछि सरकारको राजस्वसमेत प्रभावित हुदै आएको छ।

लक्ष्मीपुर बेलबिछवा, महादेवपट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको स्थानीय व्यापारीहरूको गुनासो छ।

लत्ताकपडा, श्रृंगारका सामान, ईलेक्ट्रोनिक्स उपकरण र खाद्यान्न लगायतका सामानहरूको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ।

प्रकाशित मिति: : 2025-04-02 19:38:00

प्रतिकृया दिनुहोस्