जनताको सबैखाले समस्या सुन्न र समाधान गर्न तयार छु : ईश्वर पोखरेल

नेकपा एमालेको तर्फबाट काठमाडाैँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ ‘क’ को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले मतदातासँगको भेटघाट कार्यक्रमलाई तीव्रताका साथ निरन्तरता दिइरहेका छन्।

काठमाडाैँ महानगरपालिका वडा नम्बर २ स्थित मतदाता भेटघाटका क्रममा प्रतिनिधिसभाका उम्मेदवार पोखरेलले विगतमा चुनाव हार्दा पनि र जित्दा पनि जनताको साथ नछोडेको भन्दै खुलेर प्रशंसा गरेका छन्।

मतदाताले २०६४ र २०७० को निर्वाचनमा झिनो मतले पराजित भएका पोखरेलले आफूहरूको साथ नछोडेको र २०७४ को निर्वाचन जितेपछि जनताको हरेक समस्या समाधानका लागि धेरै काम गरेको भन्दै खुशी व्यक्त गरेका हुन्।

उनीहरुले नेता भनेको जस्तोसुकै अवस्थामा पनि मतदाताको साथमा रहनसक्ने हुनुपर्ने र त्यो गुण पोखरेलमा भएको बताएका छन्।

मतदाताको प्रतिक्रिया सुनेपछि पोखरेलले वडा नम्बर २ एमालेका नेता स्व. मनमोहन अधिकारी जन्मेको ठाउँ भएकाले पनि आफू यही क्षेत्रबाट उम्मेदवार बन्न पाउनु सौभाग्यको कुरा भएको बताए। साथै पोखरेलले २०३९ सालदेखि वडा नम्बर २ मा एमालेले पराजय बेहोर्नु नपरेको स्मरण गराए।

पोखरेलले आफूसमक्ष जनताले मनमा लागेका कुरा निर्धक्कसँग बोल्न आग्रह गर्दै आफू जनताको सबैखाले कुरा सुन्न तयार रहेको बताए।

'रोग निको उपचार गर्न डाइग्नोसिन गर्नुपर्छ। डाइग्नोसिस भनेको रोगको आधा उपचार हो। अर्थात समस्या पहिचान गर्नु भनेकै समाधानको आधा प्रक्रिया हो। तसर्थ समस्या सुनाउन कन्जुस्याइँ नगर्नुहोला', पोखरेलले भने।

एमालेको वडा समितिले राखेका कार्यक्रममा सहभागी भएर जहिले पनि समस्या सुन्न र त्यसको समाधान गर्न तयार रहेको उनको भनाइ छ।

आफू र क्षेत्र नम्बर ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवाल जुनसुकै बेला जनताको समस्या सुन्न तयार रहेको र विगतदेखि नै जनतासँग जनप्रतिनिधि नामको कार्यक्रम नै संचालन गरेर काम गर्दै आएको पोखरेलको भनाइ छ।

समाजमा राम्रा र नराम्रा सबैखाले मान्छे हुने र त्यही समाजमा राम्रा र नराम्रा पक्ष पनि हुने भएकाले नराम्रा पक्षलाई हटाउँदै लैजाने विषयमा आफूहरु प्रतिबद्ध रहेको पोखरलले बताए। पोखरेलले आफू निर्वाचित भएपछि गर्ने दुई वटा मुख्य कामको बारेमा पनि मतदातालाई स्पष्ट पारेका छन्।

पोखरेलले नीति, योजना र बजेट निर्माणलाई पहिलो काम भनेका छन् भने आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई दोस्रो कामको रुपमा स्पष्ट पारेका छन्।

राष्ट्रिय हितको रक्षा, सुशासन र आर्थिक विकासका लागि एमालेको सरकारको विकल्प नभएको उनको दाबी छ। एमालेको विचार नै देशका लागि आवश्यक रहेकाले सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे।

एमालेका वरिष्ठ उपाध्यक्ष र पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो राजनीतिक उचाईका कारण पनि प्रतिद्धन्द्धीले अनावश्यक आरोप प्रत्यारोप लगाउन सक्ने भएकाले भ्रममा नपर्न आग्रह गरे। 'मेरो उचाई हेरेर ममाथि ढुंगा प्रहार गर्न सक्छन्। त्यस्तो प्रहारको सामना गर्न सधैँ तयार छु। बरु मर्न तयार छु तर जनताको शीर झुक्ने कुनै काम गर्दिनँ', उनले भने।

पोखरेलले प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले सबै क्षेत्रमा उम्मेदवार उठाएको तर कांग्रेसले ८४, माओवादीले ४३ र नेकपा एसले २० क्षेत्रमा मात्रै उम्मेदवार बनाएर पनि बहुमतको सरकार बनाउँछौँ भनेर भ्रम फैल्याएको बताए। बरु एमालेले नै बहुमत ल्याएर सरकार बनाउन सक्ने गरी उम्मेदवार खडा गरेको उनले स्पष्ट पारे।

स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा एमालेको पपुरल भोट सबैभन्दा धेरै रहेकाले पनि एमाले पहिलो ठूलो दल बन्नेमा कुनै शंका नरहेको उनले बताए।

पोखरेलले केपी ओली प्रधानमन्त्री हुँदा नेपालको सम्पूर्ण भूभाग समेटिएको चुच्चे नक्सा सार्वजनिक गरेको उल्लेख गर्दै राष्ट्रहितको काम गर्न र परिआए भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने क्षमता ओलीमा मात्रै भएको बताए। ओली प्रधानमन्त्री हुँदा नै कोशी राजमार्ग, कर्णाली राजमार्ग, एकै दिन ३ सय ९६ अस्पतालको शिलान्यास, स्वास्थ्य बीमाको काम, सामाजिक सुरक्षा कोषको काम लगायतका दीर्घकालिन महत्वका कामको सुरुवात भएको पोखरेलले स्मरण गराए।

पोखरेलसँगै मतदातासँग भेटघाटमा सहभागि काठमाडाैँ क्षेत्र नम्बर ५ क का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले आफू वडा समितिले राखेको हरेक कार्यक्रममा सहभागि भएर जनताको गुनासो सम्बोधन गर्दै आएको बताए।

वडा नम्बर २ मा टुकुचा खोलाले दुःख दिँदै आएकोमा अघिल्लो कार्यकालमा उक्त समस्या समाधान गरेको बताए। समस्या समाधानका लागि वरिष्ठ उपाध्यक्ष पोखरेल रक्षामन्त्री हुँदा नेपाली सेनाको सहायतामा टुकुचा खोलाको बाँध भत्काएर डुबानको समस्या आधा समाधान गर्न सफल भएको  सिलवालले जानकारी दिए।

काठमाडाैँ महानगर–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले हरेक समस्या आफूसमक्ष जानकारी गराउने र उक्त समस्या समाधान गर्ने गरेको उनले बताए।

जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर आफ्नो निर्वाचन क्षेत्रमा भएका हरेक समस्या समाधान गर्दै आएको उनले स्मरण गराए। जनताको शक्तिबिना केही काम गर्न नसक्ने उल्लेख गर्दै सिलवालले जनप्रतिनिधलाई जनताको साथ भएन भने पानीबिनाको माछा जस्तै हुने बताए।

विगतमा काठमाडाैँ महानगरपालिकाले वडालाई वार्षिक २५ लाख रुपैयाँ मात्रै बजेट दिने गरेकोमा महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यसँगको पालामा रकम बढाएर २ करोड रुपैयाँ पुर्याएको र अहिले उक्त रकम ७ करोड पुगेको सिलवालले जानकारी दिए।

त्यसैगरी केपी शर्मा ओली प्रधानमन्त्री र ईश्वर पोखरेल उपप्रधानमन्त्री हुँदा मेलम्ची खानेपानी आयोजनाको विस्तारले गति लिएको सिलवालको भनाई छ।

काठमाडाैँ महानगरको वडा नम्बर २ मा निर्माण गर्नुपर्ने सडकका लागि बजेट छुट्टयाएको तर नेपाल विद्युत प्राधिकरण र मेलम्ची आयोजनाको काम सम्पन्न नभएकाले सडकको काम रोकिएको सिलवालले जानकारी दिए।

विगतमा पहिला सडक पिच गरेपछि कहिले प्राधिकरणको तार बिच्छ्याउन र कहिले मेलम्चीको पाइपका लागि त्यही सडक भत्काउनु परेकाले अब भने उल्टो काम नगर्नेतर्फ ध्यान दिएको उनले बताए।

प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि विकास निर्माणका कामका अलावा प्रदेशको नीति निर्माणमा पनि आफू सक्रिय रहने सिलवालको भनाइ छ।

प्रकाशित मिति: : 2022-10-29 13:17:00

प्रतिकृया दिनुहोस्