कोरोना महामारीका बेला झारपातको जंगल फाँडेर बारीमा उनले स्याउका विरुवा रोपेका थिए। इटालीबाट ल्याइएका ती स्याउका विरुवा अब मनग्य फल दिने भइसकेका छन्। अनि नुब्री भ्यालीको नामरुङमा लाक्पा ढुण्डुप लामाका सपना र खुसी पनि स्याउसँगै फुलिरहेका छन् अचेल।
दसैँ अगाडि मनास्लु पदमार्गमा पर्यटकको घुइँचो थियो। काठमाडौँदेखि करिब ४-५ घण्टा जति धादिङबेसी, सल्यानतार, आरुघाट हुँदै माछेखोलासम्म गाडी यात्रापछि पैदलयात्रा सुरु हुन्छ।
नामरुङ गाउँ पुग्न चुम भ्याली घुमेर जाँदा हप्तादिन र सिधै नुब्री गए ३–४ दिन लाग्छ। दोस्रो या तेस्रो दिन प्रायः पदयात्री ड्याङमा बास बसेर करिब ५ घण्टा जतिको उकालो चढेर पोरस्थित स्याउ फार्ममा पुग्छन्। यहाँ आइपुग्दा पर्यटक थाकेका हुन्छन्।
पर्यटकहरू (२६५० मिटर) पोरमा टक्क अडिन्छन्। चौतारो जस्तो स्थल, काठको बेञ्चमा आराम गर्छन्। टेबलमा मिठाइ, बिस्कुट, बेकरी आइटम फिँजाएर राखेको भेटिन्छ। र डोकोमा सजिएको स्याउमा पर्यटकका आँखा पुग्छन्। उनीहरू ताजा अर्ग्यानिक स्याउ चाख्छन्, फ्रेस एप्पल जुस पिउँदै थकाइ मार्छन्।
दसैँको केही दिन अगाडि हामी त्यहाँ पुगेको थियौँ। ‘वाऊ, भेरी डेलिसियस टेस्ट,’ भन्दै केही हुल पर्यटक स्याउ चाख्दै गरेका थिए।
एक दशकअघि नामरुङ गाउँका लाक्पा ढुण्डुप लामाले अर्ग्यानिक स्याउ फार्मको सपना देखेका थिए। बारीमा स्याउ फलेपछि जुस, जाम र वाइन उत्पादन गर्ने योजना विस्तारै साकार भइरहेको देख्दा उनी दंग छन्।
‘स्याउ त कति फल्यो फल्यो। पोहोर चैँ १५-२० हजार किलो जति फल्यो, यो वर्ष त धेरै पो फल्यो’, मख्ख हुँदै उनले भने।
बाटोमा हिँडेका पर्यटकलाई अर्ग्यानिक स्याउ र फ्रेस एप्पल जुस बेच्न भ्याईनभ्याई छ छिरिङसहितका कर्मचारीलाई।
नुब्री भ्यालीको मौलिक पोशाकमा सजिएका लाक्पा ढुण्डुप पनि आफैँ खट्छन्, पर्यटकलाई अर्ग्यानिक स्याउ चखाउँछन्। अनि इच्छुकलाई फार्म पनि डुलाउँछन्। उनीहरूलाई मनास्लु क्षेत्रको भरपुर पर्यटकीय सूचना बाँड्छन्।
३–४ दिनदेखि हिँडेर लखतरान भएर पोरस्थित स्याउ बारीमा विदेशी तथा आन्तरिक पदयात्री पुग्दा उही लाक्पा दाइको बारीमा फलेको ताजा स्याउ खाँदै पुनर्ताजगी महसुस गर्छन्। हातहात बिक्छ प्रतिकिलो ३५० रूपैयाँ मूल्यमा र फ्रेस जुस पनि।
यहाँ पूरै स्याउ खपत हुन गाह्रो छ। त्यसैले लाक्पा दाइले विभिन्न जुक्ति निकाले– स्याउको चना सुकाएर प्याकेटमा बेच्छन्, बेकरी आइटम बनाउँछन्, अनि एप्पल ब्राण्डी पनि।
बारीमा लगाएको यी स्याउका बेर्ना उनले इटलीबाट ल्याएका हुन्। इटलीबाट विरुवा भारतको कलकत्ता पुग्न करिब ३ महिना लागेको थियो।
‘ल्याउँदा ल्याउँदै कति त बाटोमै फूल फुल्न थालेछ,’ उनले मन्द मुस्कान छोड्दै भने। कलकत्ताबाट नेपाल झिकाउन पनि हप्तौँ लाग्यो। अनि त्यसलाई कन्टेनरमा सुरक्षित ल्याइएको हो।
लाक्पा दाइ सानो छँदा स्याउबारी भएको पोरमा बस्ती थियो रे! पछि बस्ती खाली भएर जमिन बाँझो भएछ। विदेशबाट गाउँ फर्किंदा बारी त जंगल भइसकेको थियो।
गाउँले पनि अन्यत्र सरे, खेतीपाती पनि गर्न पनि छाडे। उनी सानो छँदा पोरको उर्वर भूमिमा खेतीपातीले भरिभराउ हुने बारी जंगल बनेकाे थियो।
बाल्यकालदेखि नै गाउँमा केही गर्नुपर्छ भन्ने उनी सोच्थे। उनको मनमा केही गर्न सकिन्छ कि भन्ने आइडिया फुर्यो, स्याउ रोप्ने विचार पलायो।
उनले गाउँलेसँग भाडामा जग्गा मागे। सुरुमा गाउँलेले लिजमा दिन हिच्किचाए, ‘दुःख मात्रै हुन्छ, तपाईंको पैसा मात्र खेरो जान्छ,’ भनेको सम्झना ताजै छ उनलाई।
सुरुमा गाउँले लाक्पा दाइको स्याउ र जडीबुटी रोप्ने योजना नपत्याएको र गिज्याइको सुनाए उनले। त्यसपछि सुरुमा इटालीबाट ४ हजार बोट परीक्षणका लागि रोपेको सुनाउँछन् लाक्पा दाइ। जंगल फाँडे, बारी बनाए र धेरै मेहनतपछि स्याउ फल्यो।
अघिल्लो वर्ष ३ हजार किलो हेलीमा लगेर भाटभाटेनीलाई बिक्री गरे। रू ४९० मा एक महिनामा बिक्री गरे। पोहोर १०–१५ हजार किलो जति फलेको स्याउ, अहिले धेरै फल्यो। केही वर्षअघि एप्पलको जाम, रक्सी, एप्पल साईडर, वाइन उत्पादन गरेर गाउँलेलाई खुवाउने र आय आम्दानी गर्ने सोच थियो उनको। अहिले उनले सोचेको पूरा भएको छ।
फार्मभित्रै प्राकृतिक घर (नेचुरल होम) बनाएका छन् लाक्पा दाइले। १६ ओटा कोठा छन्, त्यसमा किचेन अनि डाइनिङ रुम पनि छ। गाउँपालिकाभित्र कुनैले तालिम लिन सहयोग होस् भनेर नेचुरल घर बनाएको उनले बताए। इको-टुरिज्म कन्सेप्टमा अगाडि बढेको उनको योजना कृषि पर्यटनको अवधारणामा अगाडि सारिएको छ।
‘स्याउ बहुउपयोगी फल हो। यसको कुनै पनि चिज खेर जाँदैन। यसको फल खान मिल्छ, रक्सी, एप्पल साईडर, जुस, जामलगायत धेरै चिजवस्तु बन्छ। बोक्रा पनि मल बन्छ। विदेशतिर ९–१० थरिका बेकरी आइटम बनाउँछ’, लाक्पा दाई सविस्तार सुनाउँछन्।
‘स्याउको कुनै पनि चिज खेर जाँदैन। फल खान मिल्छ, बोक्रादेखि दाना सबै काम लाग्छ’, उनी भन्छन्। यहाँको अर्ग्यानिक स्याउको स्वाद नै फरक भएको सुनाउँछन् लाक्पा दाइले।
‘यता घुम्न आउने पर्यटक र गाइडहरूले पनि अन्यत्र फलेको स्याउभन्दा धेरै टेस्टी छ भनेर भनेका छन्,’ उनले सुनाए।
उनको योजनाअनुसार भविष्यमा पर्यटकहरूले टिकट काटेर स्याउ फार्म घुम्दै बोटबाटै स्याउ टिपेर खानेछन्। त्यसका लागि पनि लाक्पा दाइले योजना बनाइरहेका छन्।
लकडाउनमा रोपेको स्याउ
वि.सं.२०७६ सालमा सारा विश्व कोरोना महामारीले गाँजिरहेको थियो। महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले पनि लकडाउन सुरु गर्यो। लकडाउन बढ्दै गयो। त्यसबेला उनी काठमाडौँमा थिए।
त्यहीबेला लाक्पा ढुण्डुप लामा चुपचाप पुर्ख्यौली गाउँ नुब्री भ्यालीको नामरुङतिर हानिए। र कामदार बटुले अनि बारीभरि धमाधम स्याउका विरुवा रोपे।
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा नुब्रीका पर्यटनकर्मी लामाले चुमनुब्री गाउँपालिका–४, पोरमा करिब ३ सय रोपनी जग्गामा चार हजार ३ सय ७० स्याउका विरुवा रोपे।
उनले केही पुर्ख्यौली र गाउँलेको जग्गा भाडामा लिएर इटालीबाट ल्याइएका फुजी, गोल्डेन डेलिसियस, गाला र गोल्डेन जातका विरुवा रोपेका छन्।
‘काठमाडौँमा लकडाउन सुरु भयो, मचाहिँ गाउँतिर आएँ र स्याउको विरुवा रोप्न थाले। मलाई त लकडाउनको त्यति अनुभव पनि भएन,’ यसपल्ट स्याउ फार्ममा भेट भएको लाक्पा ढुण्डुपले बताए। अहिले त्यो मेहनतले मनग्य फल दिन थालेको छ, उनी सन्तुष्ट छन्। स्याउसँगै जडिबुटी रोपेका छन् र मौरीपालन पनि गरेका छन्।
बोटका स्याउ राम्रोसँग फल्यो। तर बजारसम्म पुर्याउन नसकेको उनले दुखेसो पोखे। ‘सडक सञ्जालको अभावमा ढुवानीको समस्या छ, हेलीमा लैजाँदा काठमाडौँमा स्याउ महँगो पर्छ’, लाक्पा ढुण्डुप भन्छन्, ‘खच्चडमा बोकाएर लग्यो भने बिग्रिन्छ, २-३ दिन लाग्छ गाडीसम्म पुग्दा। बाटोमै स्याउ कुहिने डर हुन्छ।’
फार्मको छेवैमा रहेको भवनको तल्लो तलामा चिस्यान कोठाभरि स्याउ भण्डारण गरिएको छ।
योपल्ट पत्रकार तथा डकुमेन्ट्री मेकर मित्र प्रदिप पोख्रेल र म दसैँको केही दिन अगाडि पोरस्थित लाक्पा दाइसँगै एप्पल फार्म पुगेका थियौँ। बोटमा स्याउ लटरम्म फलेका थिए, कामदारहरू स्याउ टिप्न व्यस्त थिए। नजिकै भुइँतलाको चिस्यान कोठा स्याउले टनाटन भरिएको थियो। फ्रेस स्याउ बाटामा पर्यटक (पदयात्री) का लागि बिक्री गर्न राखिएको थियो।
अर्ग्यानिक फार्म गेस्ट हाउस
फार्मको छेवैमा उनले गेस्ट हाउस पनि खोलेका छन्। काठैकाठले बनेको चिटिक्क त्यो भवनमा १० कोठा छन्। जहाँ २० जनाजति आरामले बास बस्न मिल्छ। खान र बस्नका लागि राम्रो छ। त्यसको भुइँतलामा स्याउ राख्ने कोल्ड स्टोरेज पनि बनाएको छ।
स्याउ फार्मको आनन्द लिँदै प्रकृतिमा रमाउँदै बास बस्न उपयुक्त स्थल हो यो।
बेल्जियमका नागरिक टोरिस डि बुजरले एक रात स्याउ फार्मको लजमा बिताए। कास्कीका राजेश सापकोटाले मनास्लु घुमाउन ल्याएका बुजर बेल्जियमका चर्चित म्युजिक ब्याण्ड म्यानेजर हुन्।
बिहान नाम्रुङस्थित ‘नुब्री फोर सिजन रिसोर्ट’मा कफी पिउने बेला भेट भयो। एप्पल फार्मको बसाइ अवस्मरणीय भएको बताए।
पहिला यो ठाउँ झारले ढाकिएको थियो। केही वर्षअघिसम्म लाक्पाले के गर्न लागेको होला भन्ने मान्छेहरु अहिले यहाँको गतिविधि र पर्यटकको चहलपहल देखेर छक्क परेका छन्।
देशैभरका नेपाली दाजुभाइ, दिदीबहिनीलाई स्याउबारे सिक्न र अध्ययन गर्न निम्तो दिन्छन् लाक्पा दाइ। ‘उनीहरूले सिक्न चाहेमा निःशुल्क सिकाइदिन्छु’, उनले वचन दिए।
यो स्थान आध्यात्मिक केन्द्र पनि हो। वेयुल अर्थात् पवित्र स्थल। साथै यो ठाउँ निकै उर्बरभूमि पनि। गुरु रिम्पोचेले संसार ध्वस्त भए पनि यो स्थान सुरक्षित रहिरहने बताएका छन्।
‘वेयुल भनेको लुकेको ठाउँ, धार्मिक पुस्तक गुरुले अनुयायीलाई लुकाएर राखेको ठाउँ’ ११३ धार्मिक पुस्तकमा पनि यसका बारेमा उल्लेख गरिएको छ। त्यसैले धार्मिक र आध्यात्मिक केन्द्र पनि हो यो स्थान।
उत्तरी गोर्खाको नुब्री उपत्यका दुर्गम र विकासदेखि टाढा र राज्यको पहुँच नपुगेको ठाउँ पनि हो।
नामरुङमा जन्मेका लाक्पा ढुण्डुपको मनमा सानैदेखि यो ठाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो। ९ वर्षको उमेरमा खाली खुट्टा आफ्ना पितासँग सहर पसेका लाक्पा अल्लारे उमेरमा सिंगापुर पुगे। विदेशमा करिब १७ वर्ष बिताएपछि पुर्ख्यौली गाउँ नामरुङ पुग्दा जस्ताको तस्तै देखे।
केही विकास भएको थिएन। सानैदेखिको सपना उनको मनमा जन्मथलोमा केही गर्नुपर्छ भन्ने थियो। त्यही सपना पछ्याउँदै नामरुङ सेरोफेरोमा केही गर्न कस्सिए उनी।
एक दशकअघिदेखि उनी मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा जुटेका हुन्। गाउँमा उनले बिलासी रिसोर्टको परिकल्पना गरे। त्यसकै जन्म हो, नामरुङ गाउँको ‘नुब्री फोर सिजन रिसोर्ट।’
नामरुङ पुग्नु आधा घण्टा दुरीमा ३ सय रोपनी जग्गा गाउँलेबाट भाडामा लिए। पोर गाउँका मानिस अन्यत्र बसाइँ सरेसँगै रित्तो भएको थियो। त्यही रित्तिएको गाउँलाई उनले स्याउ फार्म खोलेर पुनर्जिवित पारेका छन्। बाँझो जमिन र चारकोसे झाडीले भरिएको ठाउँलाई फाँडे र स्याउ रोपे।
विदेशमा सिकेको सीप गाउँलेलाई सिकाउन चाहन्छन् उनी। पलायन भएका युवालाई गाउँमै अडिन र केही गर्नुपर्छ भन्ने सन्देश दिइरहेका छन्। ‘मैले विदेशमा धेरै वर्ष बसेर सिकेको सिप र ज्ञान गाउँका युवाहरूलाई सित्तैमा बाँड्न चाहन्छु’, उनी भन्छन्।
नेपालमा स्याउ विदेशबाट आयात गरेको देखेर नेपालमै पनि उत्पादन हुनसक्ने सोचेका उनले आफ्नो सपना पनि स्याउसँगै फुलाउँदैछन्।
त्यसका लागि उनले मनाङका धेरै स्याउबारी घुमे। र स्याउबारे ज्ञान बटुले। यहाँको हावापानी र भौगोलिक अवस्था अध्ययन गरेर स्याउ फार्मको परिकल्पना गरे। त्यसको फलस्वरुप जन्म भयो, अर्ग्यानिक एप्पल फार्म। फार्ममा मौरीपालनसहित सतुवा, वन लसुन, अलैंची आदि जडीबुटी पनि रोपिएको छ।
२०७२ सालको भुइँचालो र ०७६ को कोरोना महामारीले उनको काममा ढिलाई भयो। तर हार खाएनन्। हाल आएर नामरुङमा आरामदायी रिसोर्ट र पोरमा एप्पल फार्मसँगै अर्ग्यानिक फार्म लज सञ्चालन गरिरहेका छन्।
यो अहिले गोर्खा जिल्लाकै ठुलो र नमुना स्याउ फार्म बनेको छ। र नामरुङको नुब्री फोर सिजन रिसोर्ट, मनास्लु पदमार्गकै लक्जरियस रिसोर्ट भएको छ।
मनास्लु पदमार्ग घुम्न आउने पर्यटकलाई राम्रो सेवा सुविधा दिने उनको लक्ष्य अनुरुप यात्रा निरन्तर अगाडि बढेको छ।
मेहनती स्वभाव, हँसिलो अनुहार र मिजासिलो बोलीले उनी पर्यटनको विकास र प्रवर्द्धनमा रात-दिन खटिरहेका छन्।
सँगसँगै समाजसेवा र गाउँको विकासमा जुटिरहेका लाक्पा ढुण्डुप चुमनुब्री मात्रै नभएर जिल्लाकै पर्यटन प्रवर्द्धनमा अग्रसर छन्। व्यापारसँगै यो क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनमा उनको योगदान अतुलनीय छ।
सम्पर्कः
अर्ग्यानिक एप्पल फार्म एन्ड गेस्ट हाउस,
चुमनुब्री गाउँपालिका - ४ , पोर, गोर्खा
फोनः ९८६७८६१७०१, ९८५११५०८८, ९८४६१०३९७८