सिपाही पेसा हो। दर्जा होइन। सिपाहीको समूह नै सेना हुन् भने सेना र समाज माछा र पानी हुन्। तसर्थ जनता–सरकार–सेनाबीचको विश्वास नै नागरिक–सेना सम्बन्ध हो। जुन देशमा छिटोछिटो राजनीतिक परिवर्तन हुन्छ, त्यहाँ सुरक्षा अंगप्रति घृणा, द्वेष, कलंक थुपारिन्छन्। हरेक सरकारले आफूविरुद्ध हुने विद्रोह दमन गरी सत्ता टिकाउन सेनालगायत सुरक्षा अंग प्रयोग गर्छन् नै। अनि जब–जब सत्ता र व्यवस्था परिवर्तन हुन्छन्, तब–तब सुरक्षा अंगलाई दोषी चस्माले हेर्ने गरिन्छ।
यस्तो अवस्थामा सेनालगायत सुरक्षा अंगले नुनको सोझो गर्दागर्दै पनि समाजमा सम्बन्ध र विश्वास बढाउन ढिला भइरहेको हुन्छ। यही अप्ठेरोमा नेपाली सेना पनि छ। यही क्रममा नेपाली सेनालाई उहिले र अहिले पनि ‘गुलामी–मलामी–सलामी’ अनि ‘शाही सेना’ भनेर थचार्ने र पछार्ने बुद्धिजीवी धेरै छन्। वास्तवमा राजनीतिक दलका नेताहरूलाई समेत नेपाली सेना उति सारो प्यारो छैन। किनभने सेनाले तिनको भ्रातृ संगठन भई कर्मचारी युनियन खोल्ने, व्यवस्था परिर्वतनका लागि राजनीतिक अजेन्डा बोकेर विरोध गर्ने, हडताल गर्ने, सरकारविरुद्ध सैनिक विद्रोह (मिलिटरी कु) कहिल्यै गरेन।