पार्टीले गलत बाटाे अपनाएकाे भन्दै एमाले हल्दीबारीका नेताहरूले दिए राजीनामा

BreaknLinks
BreaknLinks

झापाको हल्दीबारीमा नेकपा (एमाले)का युवा विद्यार्थी सम्बद्ध दुई जनवर्गीय संगठनका नेताहरुले पार्टीले गलत निर्णय लिएको ठहर गर्दै संगठनका कुनै पनि जिम्मेवारीमा नरहने गरी संयुक्त राजीनामा दिएका छन।

सोमबार राष्ट्रिय युवा संघ र अनेरास्ववियुका स्थानीय नेतृत्वले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीका केही नेतृत्वले झापाको क्षेत्र नं ३ मा पार्टीलाई विस्थापित गराउने र फरक आस्था र विचार राख्ने पार्टी राप्रपालाई पटक–पटक स्थापित गराउन चुनावी तालमेल गरेकोमा असन्तुष्टि जनाउँदै राजिनामा दिएको सार्वजनिक गरेका हुन्।

राष्ट्रिय युवा संघका गाउँ कमिटी अध्यक्ष अनिल मेचे र सचिव मनोज सुवेदी तथा अनेरास्ववियुका गाउँ कमिटी अध्यक्ष विजय राई र अभिषेक खतिवडाले हस्ताक्षर गरेर सावजनिक गरेको विज्ञप्तीमा मसिंर ४ मा हुने निर्वाचनमा राप्रपाका लागि भोट माग्न र एमाले–राप्रपाको तालमेलबाट तय भएका चुनावी कार्यक्रमहरुमा सहभागी हुन नसक्ने जनाउ समेत दिइएको छ।

झापाको निर्वाचन क्षेत्र नं ३ मा २०७४ मा एमालेले आफना कार्यकर्ताहरुलाई एकपटक राप्रपालाई सघाउन निर्देशन गरेको थियो। तर, यसपटक आउँदो मसिंर ४ मा हुने निर्वाचनमा पनि संघीय निर्वाचन क्षेत्रमा राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउन भनेपछि एमाले पार्टी र जनवर्गीय संगठनका स्थानीय नेता, कार्यकर्ताहरुले तिब्र असन्तुष्टि जनाउँदै आएका छन।

कार्यकर्ताहरुको भावनाविपरित प्रमुख एजेण्डामानै बेमेल रहेको राप्रपालाई चुनावमा पटक–पटक समर्थन जनाएर भोट माग्दै जान नसकिने एमाले भित्रका धेरै असन्तुष्ट नेता, कार्यकर्ताहरुको निष्कर्ष छ। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली, अग्नी खरेल, देवराज घिमिरे लगायतका उच्चतहका नेताहरुको जितमा सहजताका लागि एमालेले खोजेको राप्रपाको साथ मतदाता तथा तल्लो कार्यकर्ताको तहबाट गुम्ने सम्भावना बढेको छ।

एमाले राप्रपा तालमेलप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा तर्फ क्षेत्र नं २ मा अर्जुनधारा नगरपालिकाका पूर्व मेयर हरिकुमार राना, क्षेत्र नं. ३ मा डम्बर गिरी र प्रदेश सभा सदस्यतर्फ शिवसताक्षीका पूर्व वडाध्यक्ष केहरसिंह बस्नेत लगायत एमाले नेता कार्यकर्ताहरु कोही सत्तारुढ गठबन्धनबाट त कोही स्वतन्त्र उम्मेदवार बनेका छन। रानाले गठबन्धनमा आवद्ध माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं २ पाएका छन भने गिरीले प्रतिनिधि सभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन। उनले सूर्यमुखीको फूल चुनाव चिन्ह पाएका छन।

गत स्थानीय चुनावमा झापाको क्षेत्र नं. ५ अन्तर्गतको गौरादह ३ मा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका दिलिप भण्डारी लोकप्रिय मतका साथ वडाध्यक्षमा विजयी भइसकेका छन।

पार्टीहरुभित्र चुनाव जित्ने सम्भावित र पार्टीमा योगदान गरेका नेता, कार्यकर्ताहरुलाई नेतृत्वले गलत निर्णय लिएर पाखा लगाउँदै विद्रोहको वातावरण सिर्जन गरेपछि यसपटकको चुनावमा अधिक स्थानमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरुको संख्या बढदो छ।

प्रकाशित मिति: : 2022-10-18 09:35:00

प्रतिकृया दिनुहोस्